images
images
  • नेपालमा स्मार्टफोनको लोकप्रियता बढ्दैँ, ११ महिनामा भए ३९ अर्बको मोबाइल आयात

    काठमाडौं- नेपालमा महँगा मूल्यको स्मार्टफोनको लोकप्रियता उच्च दरमा बढ्दैँ गएको छ । नेपाली बजारमा स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ ।

    चालु आर्थिक वर्षको पहिलो ११ महिना (साउन–जेठ)मा करिब ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा ३८ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । यसमध्ये ८ लाख २७ हजार वटा महँगा स्मार्ट फोन हुन् ।

    ११ महिनामा ५६ लाख ३७ हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ६ अर्ब १७ करोड राजस्व पनि उठाएको छ ।

    चालु आर्थिक वर्षको समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा मोबाइल सेटको संख्या ९ लाखले घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब साढे ५ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको यस्तै अवधिमा ३४ अर्ब १४ करोड मूल्यका ६५ लाख ५४ हजार थान सेट आयात भएको थियो ।

    गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको हो । नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलका सेटको माग धान्न हम्मे परिरहेको छ ।

    कोभिड–१९ महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेको छ ।

    नेपाल मोबाइल व्यवसायी संघ अध्यक्ष पुरुषोत्तम बस्नेतकाका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियो–भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ । विभिन्न पेशा–व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड–पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् ।

    अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो–भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ४० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ ।

    विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ । ‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ ।

    अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएकाले मोबाइलको बजार बढेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images