दोलखा- विगत ६ वर्षदेखि सिलाइ बुनाई सम्बन्धी ब्यवसाय सञ्चालन गदै आएकी दोलखाकी पार्वती दाहाल अचेल दैनिकजसो आफ्नो ब्यवसायमा ब्यस्त हुने गरेको बताएकी छन् ।
दाहाल भन्छिन्, “म विहान ५ बजे उठ्छु, बालबच्चा विद्यालय पठाउन तयार गर्नेदेखि घरको काम सकाएर ७ बजे पसलमा पुग्छु । पसलबाट बेलुकी ८ बजेतिर मात्रै घर फर्किन्छु, दिनभरी ब्यस्तै रहन्छु ।
घरखेतको काममा मात्र सिमित रहँदै आएकी उनी सिलाइ बुनाइको तालिम लिएपश्चात आफ्नै नाममा पसल दर्ता गराएर ब्यवसाय गरेपछि आर्थिक रुपमा समेत बलियो भएको उनको भनाइ छ ।
“ पहिले त अलि अलि खर्च धान्न पनि समस्या हुन्थ्यो, त्यसैले केही गरौँ भन्ने लागेर पैसा तिरेर निजि टेलरमा गएर सिलाइ बुनाइ सम्बन्धी तालिम लिइरहेको थिए, पछि घरेलु तथा साना उद्योग कार्यलयबाट ४५ दिनको तालिम सञ्चालन गर्दैछ भन्ने थाहा भयो, त्यसमा सहभागी भएँ र प्रमाणपत्र लिएपछि ब्यवसाय सुरु गरेँ, धेरै राहत पुगेको छ नी मलाई, अहिले त म बालबच्चा पढाउनदेखि घरको खर्च धान्न समेत आफै कमाउछु । ब्यवसायलाई बढाउन पर्यो भनेर अहिले कपडा पनि बेच्न राखेको छु । सिलाइ पनि आफै गर्छु, यो सिलाइबाट पनि राम्रै आम्दानी भइरहेको छ । महिलाको नाममा ब्यवसाय दर्ता गर्न सहज र थोरै पैसा भए पुग्ने रहेछ, मेरो यो ब्यवसाय दर्ता गर्न जम्मा दुइ सय मात्र लाग्यो ।”
पहिलेको तुलनामा अहिले महिलाहरुमा उद्यमशील बन्नुपर्छ र आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने चेतना आएको छ । आर्थिक रुपमा जब सक्षम भइन्छ तब मात्रै अन्य पक्षहरु सहज बन्छन् भन्ने विषयमा महिलाहरु सचेत बन्दै आएका छन् । पहिले महिलाहरुलाई काम गर्न प्रेरणा दिने प्रचलन पनि थिएन तर अहिले महिलाहरुलाई ब्यापार ब्यवसाय गर्न प्रेरणा दिइन्छ । घरपरिवारको सहयोग र सरकारबाट पनि केही सहयोग मिलेपछि थप प्रेरणा मिलेको महिला ब्यवसायीहरुको अनुभव छ ।
पछिल्लो समय दोलखाका महिलाहरु विभिन्न उद्योग तथा ब्यवसायमा सक्रिय हुन थालेका छन् । सरकारले महिलाको नाममा दर्ता हुने उद्योग तथा ब्यवसायमा छुट दिनु, विभिन्न तालिम सञ्चालन गर्नु, महिलाहरु पनि ब्यवसायतर्फ आकर्षित भएका कारण महिला उद्योगी नमुनाका रुपमा मात्रै होइन आत्मनिर्भर पनि बन्न थालेको उनीहरु बताउँछन् ।
घरेलु तथा साना उद्योग कार्यालय दोलखाको सहयोगमा ब्युटिपार्लर ब्यवासय सञ्चालन गर्दै आएकी जानकी श्रेष्ठ पनि आफ्नै ब्यवसायबाट भएको आम्दानीबाट सन्तुष्ट छन्, “मैले पनि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिएर नै ब्यवसाय सुरु गरेको हुँ, यसले धेरै सहयोग भएको छ । आफूले आट गरेपछि गर्न सहयोग पुग्ने रहेछ भन्ने लाग्छ । आर्थिक सहयोग पनि भएको छ, तालिम पनि लिएँ र ब्यवसायबाट पनि राम्रो आम्दानी भइरहेको छ, अझै डिप्लोमा तालिम लिन पाए र ब्यवसायलाई थप बढाउन पाए राम्रो भन्ने लागिराछ अव ब्यवसाय बढाउछु ।”
सरकारले महिलाको नाममा दर्ता हुने उद्योग ब्यवसायमा छुट दिनु, विभिन्न तालिम सञ्चालन गर्नु, महिलाहरु पनि बयवसायतर्फ आर्कर्षित भएका कारण राहत पुगेको महिला ब्यवसायीहरुको भनाइ छ ।
घरेलु तथा सना उद्योग कार्यलय दोलखाको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा जिल्लामा झण्डै ६ सय भन्दा बढी नयाँ महिला उद्योगी थपिएका छन् ।
थपिएका नयाँ ७ सय १८ उद्या्ेगीमध्ये अधिकाशं महिला उद्योगी हुन् । कार्यलयका प्रमुख मिनबहादुर लामाका अनुसार कार्यालयमा २० लाख लगानीसम्मको उद्योग तथा ब्यवसाय थपिएका छन् । महिलाहरुले बढी जसो कृषितर्फ बाख्रा पालन, कुखुरापालन, बंगुपालन, सिलाइ बुनाइ, ब्युटिपार्लर, खाद्य स्टोर जस्ता ब्यवसाय संचालन गरेको पाइएको छ ।
त्यसैगरी पशुपालन, कुखुरापालन, ब्यवसायीक खेती, श्रृगांर प्रसाधानका साथै हाते बुनाइ, अचार बनाउने ब्यवसाय पनि उनीहरुले अंगालेको पाइन्छ । महिलाको नाममा ब्यापार, ब्यवसाय, उद्योग दर्ता गर्ने क्रम जिल्लामा बढ्दो छ ।
घरेलु तथा साना उद्योग कार्यलय दोलखाले चालु आर्थिक वर्षमा नयाँ उद्योगी तथा ब्यवसायीलाई लक्षित गरी विभिन्न पाँच वटा कार्यक्रम सञ्चालन गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख लामाले अनुगमनका क्रममा पनि महिला उद्यमी तथा ब्यवसायीहरुले राम्रो प्रगती गरेको पाइएको बताए ।
चेतनाको स्तर बढेसँगै उनीहरुले महिला घरायसी काममै मात्र सिमित रहनुपर्छ भन्ने मान्यता त्याग्न थालेका छन् र आर्थिक उन्नतीका निम्ति अघि बढेको देख्न सकिन्छ । घरेलु उद्योग दर्ता गर्ने क्रम बढ्दै जाँदा जिल्लामा धेरैलाई रोजगारी पनि मिलेको छ ।
विभिन्न बाधाहरु भएपनि पछिल्लो समय धेरै नेपाली महिलाहरु उद्यम क्षेत्रमा आकर्षित भइरहेको बताइन्छ । देशभित्र आयोजना हुने विभिन्न कार्यक्रममा पनि महिला उद्यमीहरुको उपस्थिति बढ्न थालेको देखिन्छ । आफूहरुको गुणस्तर अभिवृद्धि र बजारीकरणमा भने सहयोग आवश्यक रहेको महिला उद्यमी तथा ब्यवसायीहरुको भनाइ रहेको छ ।
सहुलियत कर्जामा आर्कषण बढ्यो तर प्रक्रिया झन्झटिलो
स्वदेशमै उद्यमशीलता विकास गर्ने उदेश्यले सरकारले सहुलियत ब्याजदरको कर्जा दिने ब्यवस्था ल्याएको थियो । सरकारले महिला उद्यमीका लागि भनेर सहुलियतपूर्ण कर्जा दिने ब्यवस्था गरेपनि त्यो प्रक्रिया झन्झटिलो भएको उनीहरुको गुनासो छ । विना धितो बैंकबाट १५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा पाउने ब्यवस्था सरकाले गरेपनि बैंकमा बुझाउने कागजातदेखि अन्य प्रक्रिया झन्झटिलो भएकाले उक्त सुविधालाई ब्यवहारिक र सवैको पहुँचमा पु्र्याउनुपर्ने उनीहरुको माग छ ।
एक करोडसम्मको उद्योग ब्यवसाय दर्ता गर्दा २० हजार राजस्व तोकिएकोमा महिलाको नाममा दर्ता गर्दा दुइ सय राजस्व तिरे पुग्छ भने एक करोड भन्दा धेरै पुँजी लगानीमा, लगानी हेरी दर्ता शुल्कको ५० प्रतिशत छुटको ब्यवस्था रहेको बताइन्छ । घरेलु तथा साना उद्योग महिलाको नाममा दर्ता गर्नेको संख्या बढेपनि ठूला ब्यवसायका लागि भने गजमा मात्र सिमित रहेको कतिपयको गुनासो पनि सुनिन्छ ।
दश करोडसम्म पुँजी भएका उद्योगलाई साना उद्योग, दश करोडदेखि २५ करोड रुपैयाँसम्म पुँजी भएका उद्योगलाई मझौला उद्योग र २५ करोड रुपैयाँदेखि माथी पुँजी भएका उद्योगलाई ठूला उद्योगलाई ठूला उद्योगका रुपमा वर्गीकरण गरिएको छ । दश करोडभन्दा माथिका उद्योग विभागमा पुगेर दर्ता गर्नुपर्ने प्रावधान छ ।


विश्व खबर 


















