
काठमाडौं- दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ बुधबार (असार ८ गते) बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालय नारायण नक्साल काठमाडौंमा बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँट गरिनेछ ।
कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा १५ लाख ५९ हजार ५८ जना आवेदकले १ अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरका लागि आवेदन परेको हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख १ हजार ९८३ जनाले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । १० कित्ताका दरले बाँडफाँट गर्दा ९ कित्ता बाँकी रहन्छन् । ९ जनाले भने बाँकी रहेको ९ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ताका दरले बाँडफाँट गरिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
प्रतिक्रिया दिनुहोस्