images
images
  • ६ करोड गैरकानूनी सम्पत्ति कमाउने भण्डारीविरुद्ध मुद्दा दायर

    काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा एक जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले झापाको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्द मुद्दा दायर गरेको हो ।

    भण्डारीले उपर बिगो ६ करोड २४ लाख ४ हजार रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको आयोगले जनाएको छ । भण्डारी विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएका हो ।

    तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरी आयोगमा परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा भण्डारीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आयोगको भनाई रहेको छ ।

    भण्डारी २०७३ साल असोज २१ गते रा.प.अनं. प्रथम श्रेणी बरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनी २०७७ साल साउन १ गते स्वेच्छिक अवकाश भए । सेवा प्रवेश गरेको मितिदेखि २०७८ पौष मसान्तसम्मलाई जाँच अवधि कायम गरी आय व्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, निज सार्वजनिक सेवा प्रवेश पूर्वको बचत (जाँच अवधि अघिको बचत) समेत गरी जम्मा २६ लाख ६१ हजार ६३६ रुपैयाँ आय आर्जन गरेको पाईएको छ ।

    उनको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, बिभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दातसमेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ खर्च तथा लगानी गरेको पाईएको छ । उनको कुल आय आर्जन २६ लाख ६१ हजार ६३६ रुपैयाँमा निजले गरेको कुल खर्च तथा लगानी (व्यय) ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ घटाउँदा हुन आउने ६ करोड २४ लाख ४ हजार रुपैयाँ बराबरको खर्च तथा लगानी (सम्पत्ति) को स्रोत खुल्न नआएको आयोगको आरोप रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images