काठमाडौं- असार १ गतेदेखि धितोपत्र दोस्रो बजार ६ कारोबार दिन सञ्चालन हुने भएको छ । धितोपत्र बजार सञ्चालक नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक विदा हटाउने निर्णय गरेसँगै ६ कारोबार दिननै बजार सञ्चालन गर्ने तयारी गरेको हो ।
नेप्सेका कायम मुकायम प्रबन्धक निरञ्ज फुयालले अहिलेनै निर्णय भैनसकेको भएपनि प्राविधिक कठिनाई नहुने अवस्था आए ६ कारोबार दिननै बजार खुल्ने जानकारी दिए । उनका अनुसार सार्वजनिक विदाको दिन र शनिबार वाहेक बजार खुला गर्न बजार सम्बद्ध सबै सरोकारवाला निकायहरु सहमत भएका छन् ।
कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म विहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ः३० बजेसम्म तय गर्ने छलफल भएको समेत उनले जानकारी दिए । सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पालना गर्दै त्यस अघि आइतवारदेखि बिहीबारसम्म चार कारोबार दिन सञ्चालन हुदैं आएको बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुदैं आएको हो ।


विश्व खबर 



















