काठमाडौं-सरकारले काठमाडौं उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गामा ४ आना १ दामभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियामवाली जारी गर्दै काठमाडौं उपत्यकामा १३० वर्गामिटर (४ आना १ दाम) वर्गमिटरभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको हो ।
सरकारले काठमाडौं मात्रै नभएर अन्य आवासीय क्षेत्रमा ५ सय मिटरभन्दा सानो कित्ताको हकमा चौडाईभन्दा लम्बाई ४ गुणा बढी हुने गरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ ।मन्त्रालयले काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई ५ सय वर्गमिटर क्षेत्रफलभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइने छैन । साथै, तराई र भित्री मधेशमा रहेको कृषियोग्य जग्गा तोकिएको क्षेत्रमा ६७५ वर्गमिटरभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइने छैन ।तर, कुनै कित्ताको आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्ताबाट निश्चित क्षेत्रफल समावेश गरी प्लट मिलान गर्न उपयुक्त देखिएमा मिलानका लागि कित्ताकाट गर्न भने सकिनेछ ।
उपत्यकामा पछिल्लो समय उच्च कित्ताकाट र कारोबार हुँदै गएपछि घरजग्गा कारोबारमा कडाइ गर्दै लगेको छ । सोही समयमा सरकारले भूउपयोग नियामवली मन्त्रिपरिषदबाट पास भई कार्यान्वयनमा ल्याएको छ ।नयाँ व्यवस्था अनुसार ४ आना १ दामभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने भएपछि जग्गा खरिद गर्ने लागत बढ्ने भएको छ ।
सबैको बसोबासको केन्द्र बनेको उपत्यकामा सामान्यतया साढे २ आनाको जग्गामा समेत घर बनाउने प्रचलन छ । सामान्यभन्दा सामान्य मानिसको काठमाडौंमा जग्गा खरिद गरी घर बनाउने सपना बोकेको हुन्छ । अधिकांश मानिसले काठमाडौंमा २ आना मात्रै भएपनि जग्गा खरिद गर्ने सपना बोकेर जीवनभर दुःख गर्ने गर्छन ।त्यस्तै, कुनै व्यक्तिहरूले धेरै जग्गा खरिद गर्ने क्षमता नभएको खण्डमा २ आना पनि जग्गा किन्ने गरेको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार कम जग्गामा पनि मानिसहरूले ३-४ तल्लासम्म घर बनाउने गर्दछ । जसले गर्दा पार्किङ, खुल्ला ठाउँलगायत अन्य विविध समस्या भोग्न बाध्य छन् ।

काठमाडौं उपत्यकामा कम जग्गामा अग्लाअग्ला भवन बनाएको धेरै देख्न सकिन्छ । कतिपय मानिसहरूले २ आना जग्गामा पनि अग्ला भवन बनाएको बनाएका छन् । जसले गर्दा जग्गामा खर्च कम हुने गर्दथ्यो ।विगतका दिनमा कुनै पनि व्यक्तिले आनाको २० लाख रुपैयाँको दरले साढे २ आनालाई ५० लाख रुपैयाँ खर्चेर सहजै घर बनाउन सकिन्थ्यो । कुनै व्यक्तिले जग्गामा कम खर्च गर्ने सोच बनाएको अवस्थामा २ आनामा पनि घर बनाउन सकिन्थ्यो । तर, अबका दिनमा ४ आना १ दामभन्दा कम कित्ताकाट गर्न नमिल्ने भएकाले एउटा घर बनाउनका लागि आनाको २० लाखको दरले ८० लाख बढी खर्च गर्नुपर्ने हुन्छ । सरकारले आवासीय क्षेत्रका सो क्षेत्रफल तोकेसँगै एउटा घर बनाउनका लागि कम्तीमा पनि ९० लाखको हाराहारीमा खर्च गर्नुपर्ने हुन्छ । जसमा विगतको दिनको तुलनामा जग्गा खरिदमा करिब दोब्बरले लागत बढ्ने भएको छ ।
सरकारले लागू गरेको नयाँ नियमावलीले जग्गा खरिदमा लागत बढ्ने भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै नभएर अन्य क्षेत्रमा पनि जग्गा खरिदमा सर्वसाधारणको लाग बढ्ने भएको मन्त्रालयको भनाइ छ ।पछिल्लो समय उच्च रुपमा कित्ताकाट गरी बिक्री वितरण भइरहेको हुनाले सरकारले व्यवस्थित बनाउनका सो नियामवली जारी गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कित्ताकाट गरी प्लट मिलान गर्दा सम्बधित कित्तामा नै गाभ्नुपर्छ । तर, क्षेत्रफलमा नघट्ने गरी जग्गाको कित्तकाट गर्न सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछन् ।साथै, कुनै निश्चित क्षेत्र वा स्थानमा फरक मापदण्ड वा आधार निर्धारण गरी लागू गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी मापदण्ड वा आधार निर्धारण गर्न सक्नेछ ।


विश्व खबर 



















