काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइ बिहीबादेखि शुरू हुने भएको छ। विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० रिट दायर भएका छन्।
दोस्रापटक प्रतिनिधिसभा विघटन गरेको विषयमा पक्ष र विपक्षमा परेका रिट निवेदनहरुको सुनुवाई बिहीबारदेखि हुने भएको छ।
सर्वोच्च अदालतले साधारण क्षेत्राधिकारतर्फ दर्ता भएका १९ वटा रिटको सुनुवाइ बिहीबार र संवैधानिक इजलासमा जाने गरी दर्ता भएका ११ थना रिटको सुनुवाई शुक्रबारका लागि पेशी तोकिएको हो।
सोमबार १४६ जना सांसदहरुको सहित २८ वटा रिट दर्ता भएकोमा मंगलबार थप दुईवटा दर्ता भएका छन्। विपक्षी गठबन्धनका १४६ जना सांसदमध्ये १३९ जना आफैँ उपस्थित भएर निवेदनमा सनाखत गरी रिट दिएका छन् भने बाँकी ७ जनाले वारेसमार्फत उपस्थिति जनाएका थिए।
संसद पुनस्थापन गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २६ वटा र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने माग रहेका ४ वटा निवेदन छन्।
चारवटा निवेदनमा ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनाव जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ। साधारण इजलासमा पेशी तोकिए पनि सुनुवाईका लागि भने सबै रिट संवैधानिक इजलासमा जाने संभावना छ।
प्रतिक्रिया दिनुहोस्