images
images
  • यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास


    काठमाडौं । सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।

    एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।

    स्रोतका अनुसार उनीहरुबीच साझ साढे ५ बजेदेखि ११ बजेसम्म भएको छलफल र गृहकार्यमा अध्यक्ष ओलीले के गर्ने र माधव नेपाल पक्षले के गर्ने भन्ने मोटामोटी ड्राफ्ट नै तयार भएको थियो । तर, सोमबारसम्म आइपुग्दा उक्त ड्राफ्ट काम नलाग्ने अवस्थामा पुग्यो ।

    आइतबार रातिसम्मको यो प्रयास असफल भएसँगै अध्यक्ष ओलीले सोमबार माधव नेपाल पक्षका ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेका छन् भने बाँकी १२ जनलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेका छन्, जसमा घनश्याम भुसालसमेत परेका छन् ।

    के भएको थियो याक एण्ड यतिमा ?

    जेठ १० गते सोमबार काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल समुहका सांसदहरु प्रतिनिधिसभा विघटन बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिने अन्तिम तयारीमा थिए ।

    जेठ ९ गते आइतबार नै त्यसको तयारी भए पनि बहुमत सांसदहरुको हस्ताक्षर नपुगेकाले हस्ताक्षर जुटाएर विपक्षी गठबन्धनले सोमबारलाई समय सारेको थियो । माधव नेपाल र झलनाथ खनालसहितका ११ जनालाई सोधिएको स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सोमबार बिहान सकिँदैथियो ।

    यीनै दुईवटा विषयलाई मध्यनजर गर्दै नेकपा एमालेका ६ जना नेताहरु जेठ ९ गते आइतबार बेलुका काठमाडौको होटल याक एण्ड यतिमा छलफलमा बसेका थिए । एमालेको एकता जोगाउने यो प्रयासमा अध्यक्ष ओलीको समेत चाहाना रहेको एमाले नेताहरुको दाबी छ ।

    करिव चार घण्टा भएको उक्त छलफलमा खासगरी दुईवटा विषयमा कुराकानी भएको थियो । जसमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओली जेठ २ मा फर्कन सहमत भएको सार्वजनिक अभिव्यक्ति दिने र आवश्यक परे लिखित प्रतिवद्धता नै जनाउने । अर्कोतर्फ माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु सर्वोच्च अदालत जानबाट पछि हट्ने । मुख्य सहमतिको विन्दु यिनै दुईवटा बनाइएको थियो ।

    सोहीअनुसार सोमबार ओली र नेपालसँग कुरा गर्ने सहमति गरेर याक एण्ड यतिबाट उठेका ओली पक्षका नेताहरुले यसबारे ओलीलाई ब्रिफिङ गरेका थिए । र, यसमा ओलीले सहमति जनाएको सो समूहका नेताहरुको दाबी छ ।

    तर, सोमबार बिहानै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदनमा हस्ताक्षर गर्न याक एण्ड यतिमा छलफलमा बसेकै केही नेताहरु सक्रिय भएपछि अन्ततः एकताको अन्तिम प्रयास पनि विफल हुन पुगेको ओली पक्षका नेताहरुको तर्क छ ।

    ‘आइतबार भएको छलफल अनुसार सहमति गर्दा पार्टी पनि नफुट्ने र माधव पक्षलाई कारबाहीसमेत नगर्नेमा अध्यक्षसँग समेत सहमत भइसक्नुभएको थियो’, याक एण्ड यतिको छलफलमा सहभागी भएकामध्येका एक नेताले रातोपाटीसँग भने, ‘यसैका लागि अध्यक्ष ओलीले सोमबार दिउँसो १ बजेसम्म कुर्नुभयो तर, सकारात्मक परिणाम आएन ।’

    ती नेताका अनुसार सोमबार माधव नेपालसहितका १४६ जना सांसदको हस्ताक्षर सर्वोच्चमा पुग्नुअघि पनि विष्णु पौडेललगायतका नेताहरुले सिंहदरवारमै माधव नेपाल पक्षका नेताहरुसँग भेटेर पुन छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images