काठमाडौ- चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षको पहिलो सात महिनामा रु. ८ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ ।
वैदेशिक व्यापारमा वृद्धि भएतापनि मुलुकको आयातमुखी वैदेशिक व्यापारका कारण व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ३८.४५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा रु सात खर्ब ३३ अर्ब रहेको व्यापार घाटा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर रु १० खर्ब १५ अर्ब पुगेको छ ।
भन्सार विभागका अनुसार गत आवका पहिलो सात महिनाको तुलनामा आयात ४२.७८ प्रतिशतले बढेको छ । गत आवको पहिलो सात महिनामा रु ८ खर्ब ३ अर्ब मूल्य बराबरको आयात भएकामा चालु आवको सोही अवधिमा रु. ११ खर्ब ४७ अर्ब पुगेको छ । त्यस्तै आव २०७७-७८ को पहिलो सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात ८८.३० प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म रु. ६९ अर्ब ९१ करोड बराबरको निर्यात भएकामा चालु आवको सोही अवधिमा रु एक खर्ब ३१ अर्ब बराबरकोे निर्यात भएको छ ।
गत आवको पहिलो सात महिनासम्म कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत रहेकामा चालु आवमा सोही अवधिमा दुई दशमलव ४९ प्रतिशतले घटेर ८९. ७१ प्रतिशतमा आएको छ । त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा २८.६० प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा आठ प्रतिशत रहेकामा चालु आवको सोही अवधिमा १०.२९ प्रतिशत पुगेको छ ।
चालु आवको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयात अत्यधिक रहेको छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ७२ अर्ब ९६ करोड बराबरको डिजेल भित्रिएको छ । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रामा छ । चालु आवको पहिलो सात महिनामा रु ३९ अर्ब ६६ करोड मूल्य बराबरको करिब १ अर्ब २ करोड लिटरभन्दा बढी भटमासको तेल आयात भएकोे देखिन्छ । त्यस्तै एलपी ग्यास रु ३४ अर्ब ६९ करोड तथा पेट्रोल रु ३३ अर्ब ५६ करोडको आयात भएको विभागले जनाएको छ ।
त्यस्तै नेपालबाट निर्यात भएका वस्तुमध्ये भटमासको तेल सबैभन्दा धेरै देखिएको छ । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कानुसार रु ३६ अर्ब ६८ करोड मूल्य बराबरको भटमासको तेल निर्यात भएको छ । व्यवसायीले भटमासको कच्चा पदार्थलाई विभिन्न मुलुकबाट आयात गरी प्रशोधन गरेर निर्यात गर्ने गरेकाले यहाँको वैदेशिक व्यापारमा भटमासको तेलको योगदान उच्च देखिन्छ । सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेलजस्तै पाम तेल पनि कच्चा पदार्थ आयात गरी प्रशोद्धन गरेर निर्यात गर्ने गरेको छ । सार्वजनिक विवरणानुसार चालु आवको पहिलो सात महिनासम्म रु ३४ अर्ब १५ करोड मूल्य बराबरको पाम तेल निर्यात भएको छ ।
त्यस्तै रु. ५ अर्ब ७ करोड मूल्य बराबरका गलैंँचा तथा रु. ३ अर्ब ४० करोड मूल्य बराबरका जुटका बुनिएका तथा अन्य कपडा निर्यात भएको विभागले जनाएको छ । विभागका अनुसार चालु आवको पहिलो सात महिनामा नेपालले भारतबाट करिब रु ६ खर्ब ९६ अर्ब मूल्य बराबरका बस्तु आयात गरेको छ भने रु एक खर्ब ६ अर्ब मूल्य बरोबरका बस्तु निर्यात गरेको तथ्याङ्क छ । नेपालको भारतसँगको व्यापार घाटा मात्रै पाँच खर्ब ८९ अर्बभन्दा बढी छ । त्यस्तै सोही अवधिमा नेपालले चीनबाट रु एक खर्ब ६५ अर्ब मूल्य बराबरका वस्तु आयात गरेकामा रु ४८ करोड ७९ लाख मूल्य बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा सबैभन्दा धेरै वीरगन्ज भन्सार नाकाबाट रु. ४ खर्ब एक अर्बभन्दा बढी मूल्य बराबरको वस्तु आयात भएको छ । त्यस्तै भैरहवा नाकाबाट रु एक खर्ब ८४ अर्ब र त्रिभुवन विमानस्थल नाकाबाट रु एक खर्ब ४२ अर्ब भन्दा बढी मूल्य बराबरका वस्तु आयात भएको तथ्याङ्क छ । नेपालले वीरगन्ज भन्सारबाट रु ६० अर्ब चार करोड, विराटनगर भन्सारबाट रु ३७ अर्ब ५५ करोड तथा त्रिभुवन विमानस्थल नाकाबाट रु १८ अर्ब ७८ करोडभन्दा बढी मूल्य बराबरका वस्तु विदेश निर्यात गरेको छ ।


विश्व खबर 




















