काठमाडौं- अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । बिहीबार सम्पन निर्वाचनमा अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् ।
फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत पाउँदा सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १३ सय ४७ मत पाए । कार्यसमिति सदस्यमा भने चौधरी प्यानलका धेरै छन् । ३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २७ सय ८८ मत खसेको थियो ।
सानो व्यवसायबाट उदाएका थापाले ठूला व्यापारिक घरानाका करण चौधरीलाई हराएका छन् । थापाले आफ्नै मिहिनेतले ४ सय करोडको व्यापारिक साम्राज्य बनाएका हुन् । उनको व्यापारिक यात्रा त्यति सहज भने थिएन । उनी १७ वर्षकै उमेरमा सेकेन्ड ह्यान्ड मोटरसाइकल किचबेच व्यवसाय सुरु गरेका हुन् । सानै उमेरमा अटोमोबाइलक्षेत्रमा प्रवेश गरेका उनले सुरुमा व्यवसाय सञ्चालन गर्न ३ लाख रुपैयाँ बुुबासँग मागेको उनी सम्झन्छन् ।
थापा भन्छन्, ‘सुरुमा त बुुबा पैसा दिन हिचकिचाउनुभएको थियो । कान्छो छोरो, त्यहीमाथि उमेर पनि कच्चा, पैसा कसरी दिइहाल्नु र । दाजुले नै बुबालाई सम्झाएपछि ३ लाख लगानी पुँजी पाएँ ।’ ‘त्यो ३ लाखमा मैले शोरुम बनाएँ र सेकेन्ड ह्यान्ड दुईवटा मोटरसाइकल किनेँ,’ व्यवसायको पहिलो कदमको स्मरणमा उत्साहित बनेका ध्रुवले भने ।
त्यो दुईवटै मोटरसाइकल बेच्न उनलाई समय लागेन । नाफा पनि प्रशस्तै भयो, एउटामा १२ हजार, अर्कोमा १५ हजार रुपैयाँ । सुरुआती सफलताले हौसिएका उनले त्यसपछि व्यापार बढाउँदै लगे । अहिले ५१ वर्षका भए उनी । ३४ वर्षमा उनले आफ्नो व्यवसायमा कालापलट नै गरे ।
उनले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी, बैंकिङ, इन्जिनियरिङलगायत क्षेत्रमा लगानी गरेका छन् । योबाहेक उनले गैरनाफामूलक क्षेत्रमा समेत काम गरेका छन् । उनले लायन्स क्लबमा डिस्ट्रिक्ट गभर्नरको रूपमा समेत काम गरिसके । अहिलेको समयमा थापा मूलतः अटोमोबाइल व्यवसायीको रूपमा परिचित छन् । उनी पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् भने नाडा अटोमोबाइल्स एसोसिएसन नेपालमा दुईपटक उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
३ लाखको रिकन्डिसनदेखि ४ सय करोडको व्यवसायसम्मको ध्रुुवको यात्रा रोचक छ । २०२७ सालमा पोखराको मध्यम वर्गीय परिवारमा जन्मिएका ध्रुुवका बुबा भारतको ब्रिटानिया कम्पनीमा काम गर्थे । अवकाशपछि पोखरा फर्किएर उनले घरमै सानोतिनो किराना पसल खोले ।
ध्रुवका दाइ नेपाल राष्ट्र बैंकमा जागिरे, दिदी विवाह भइसकेको र बहिनी सानै भएकाले ध्रुवले स्कुल पढ्दादेखि नै पसलमा बुुबालाई सघाउँथे । ‘सानैदेखि पसलमा काम गरेको भएर होला, बिस्तारै मेरो झुकाव व्यापारमा गयो । बुुबाले पनि नोकरी होइन, व्यापार गर्नुपर्छ भन्नुहुन्थ्यो,’ व्यापारमा आकर्षित हुनुको भित्री पाटो खोतल्दै उनले भने ।
बुबाले सम्झाए पनि एकपटक त उनी झण्डै जागिरे भइसकेका थिए । २०५२ सालतिर नेपाल प्रहरीले इन्स्पेक्टरका लागि आवेदन मागेको रहेछ । इन्स्पेक्टरमा भैहाल्यो भने रिकन्डिसन किन चलाइरहने भनेर दाजुले आवेदन दिन लगाए ।
काठमाडौं आएर इन्स्पेक्टरमा भिडे । लिखितमा त पास भए, तर फिजिकलमा भने असफल भए । शारीरिक दुःख नगरेको मान्छे भएर होला, डोरीमा झुन्डिने र जमिनमा घिस्रिने परीक्षामा गाह्रो भयो, असफल भएँ,’ उनले असफलताको पाटो पनि खोले । त्यसपछि उनी पोखरा नै फर्किएर रिकन्डिसनकै कामलाई निरन्तरता दिए ।
रिकन्डिसनको काम गर्न दाइबाट प्रेरणा मिलेको ध्रुव बताउँछन् । ‘मेरा दाइले मोटरसाइकल किन्नुहुन्थ्यो । मर्मतसम्भार गरेर चलाउनुहुन्थ्यो र राम्रो मूल्य आए बेचिहाल्नुहुन्थ्यो । सेकेन्ड ह्यान्ड मोटरसाइकल शोरुममै राखेर बेच्यो भने पनि बिक्छजस्तो लाग्यो । त्यसैले यो व्यवसाय रोजेँ,’ यही पेसा नै रोज्नुको कारण खोल्दै उनले भने ।
उनले पछि थाहा पाए, उनको रिकन्डिसन हाउस त नेपालमा दर्ता भएर सञ्चालनमा आएको पहिलो रिकन्डिसन हाउस पो रहेछ । रिकन्डिसन चलाउँदै गर्दा उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा आईएलमा पढ्थे । उनी बिहान कलेज जान्थे । कलेज ११ बजेसम्म लाग्ने हुँदा दुईवटा क्लास छोडेर शोरुम आउँथे । काम गर्ने मान्छे नराखेको हुँदा मोटरसाइकल पुछ्नेदेखि शोरुम सफा गर्नेसम्मका काम आफैँ गर्थे ।
‘मैले त मोटरसाइकल बनाउन पनि जानेको थिएँ । कतिपय मोटरसाइकल आफैँले बनाएर पनि बेचेँ,’ उनी विगतको संघर्ष सम्झिँदै भने । रिकन्डिसन खोलेको झण्डै तीन वर्षपछि उनले सुजुकी मोटरसाइकलको डिलर राखे । त्यसको केही समयपछि हुलास मोटर्सको गाडीको डिलर पनि लिए । उनले आफ्नो डिलरबाट तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई गाडी पठाएका रहेछन् ।
‘तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपालमै एसेम्बल भएको मुस्ताङ गाडी चढ्ने घोषणा गर्नुभयो । एसी भएको गाडी आयातकर्ता कम्पनीसँग स्टकमा रहेनछ,’ उनले भने, ‘केही समयअगाडि मैले मेरा ग्राहकका लागि ल्याएको थिएँ, कम्पनीले सोही गाडी पठाउन आग्रह गरेपछि मैले त्यो गाडी पठाइदिएँ ।’
आफूले मगाएको गाडी नपाएकोमा ग्राहक रिसाएको सम्झना उनको मानसपटलमा ताजै छ । तर पछि प्रधानमन्त्रीलाई नै गाडी पठाएको बताएपछि ग्राहकले मानेको र आफूलाई सहज भएको पनि बताए । त्यसपछि उनले जापानी गाडी डाइहाट्सुको पनि डिलर पाए ।
अटोमोबाइलमा थुप्रै सफलता पाएका उनले लगानीलाई रियलस्टेटको क्षेत्रमा पनि विस्तार गरे । तर, रियल स्टेट व्यवसायले सुरुमा राम्रै भए पनि पछि भने अप्ठ्यारोमा पार्यो । २०६२र६३ तिर १ सय ८ रोपनी जग्गा लिएर प्लटिङ गरे पनि सोही समय घरजग्गा कारोबारमा मन्दी लाग्यो । व्यवसाय अप्ठ्यारोमा परेको बेला आफूले गरेको निर्णय सम्झिँदै उनले भने, ‘धेरैले मलाई यो मान्छे अब डुब्यो भन्थे, तर मैले धैर्यता गुमाइनँ । मूल्य घटाएरै भए पनि जग्गा बेचेँ ।’
त्यो समय उनका लागि चुनौतीपूर्ण बन्यो । बल्ल–बल्ल २र३ वर्षको मिहिनेतपछि उनी पुरानै लयमा फर्किए । त्यसपछि ध्रुवले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।
करिब ६ वर्षअगाडि उनले फोर्ड गाडीको डिलर लिए । केही समयपछि उक्त गाडीको नेपालका लागि आधिकारिक वितरक नै बने । उनले त्यस्तै दुई वर्षअगाडि पोखरामा माउन्टेन ग्लोरी रिसोर्ट पनि सञ्चालनमा ल्याएका छन् । हाल उनको दुई बैंकमा लगानी पनि छ ।
व्यवसायमा प्रशस्त सफलता पाएका थापा अब भने व्यवसायसँगै व्यावसायिक संगठनमा दत्तचित्त भएर लाग्ने योजनासहित नाडाको अध्यक्षको प्रत्यासी बनेका थिए । ‘नाडामा ९० प्रतिशतभन्दा धेरै हिस्सा होल्ड गरेका साना व्यवसायीको समस्या सुनुवाइ भएको छैन । त्यसैका लागि म अध्यक्ष बनेको हुँ,’ उनले भने, ‘म आफैँ पनि सानो व्यवसाय गर्दै यहाँसम्म आइपुगेको हुनाले साना व्यवसायीको मर्का मैले राम्रोसँग बुझेको छु ।’
आफ्नो कार्यकालमा नाडामा भएका विकृति र सिन्डिकेट हटाउन हरसम्भव प्रयास गर्ने उनको योजना छ । सुरुआती दिनदेखि नै व्यवसायमा श्रीमतीको साथ पाएको र छोरा पनि व्यवसाय सञ्चालन गर्न सक्ने भइसकेकाले आफूलाई संगठनको काममा हिँड्न समस्या नपर्ने उनको भनाइ छ ।
उनले सफलताको सूत्र पनि बताए, काममा सफल हुन लगाव, धैर्यता, मिहिनेत प्रशस्तै चाहिन्छ । जीवनमा उतारचढाव सबैको आउँछ । त्यस्तो समयमा आत्तिनु हुँदैन । जसले धैर्यता देखाएर अघि बढ्छ, त्यो मान्छे सफल हुन्छ ।’


विश्व खबर 




















