काठमाडौं– नेपालमा आटा, मैदा, चामल, चिउरा, मसला तथा अन्य खाद्य सामग्रीको बजारमा स्थापित ‘ज्ञान’ र ‘आशीर्वाद’ ब्रान्ड सञ्चालन गर्ने विकाश फुड प्रोडक्ट्स प्रालिको कारोबार ठूलो भए पनि नाफा भने निकै न्यून देखिएको छ ।
केएल दुगड समूहअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा २ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेकोमा करपछिको नाफा करिब १० लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कारोबार २ अर्ब ७४ करोड रुपैयाँ थियो। यसअनुसार एक वर्षमा कारोबार करिब ०.८९ प्रतिशतले घटेको छ ।
यद्यपि चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामै कम्पनीले २ अर्ब २० करोड रुपैयाँ सञ्चालन आम्दानी गरिसकेको छ। यही अवधिमा करपछिको नाफा भने करिब १ करोड १० लाख रुपैयाँ पुगेको छ ।
कच्चा पदार्थमै ८५ प्रतिशतसम्म खर्च
कम्पनीको नाफामा सबैभन्दा ठूलो दबाब कच्चा पदार्थको लागतले पारिरहेको देखिन्छ ।
विकाश फुडले प्रयोग गर्ने प्रमुख कच्चा पदार्थ गहुँ र धानको ठूलो हिस्सा भारतबाट आयात गर्छ । कम्पनीको कुल सञ्चालन आम्दानीको करिब ८० देखि ८५ प्रतिशतसम्म रकम कच्चा पदार्थ खरिदमै खर्च हुने गरेको छ ।
गहुँ र धानको मूल्यमा हुने सामान्य उतारचढावले समेत कम्पनीको उत्पादन लागत र नाफामा प्रत्यक्ष असर पार्ने गरेको छ ।
त्यसमाथि भारतको गहुँ निर्यातसम्बन्धी नीतिमा आएको परिवर्तनले नेपालतर्फको आपूर्ति र खरिद प्रक्रियामा थप अनिश्चितता सिर्जना गरेको छ । भारतले नेपालका लागि गहुँ निर्यातमा कोटा व्यवस्था गरेपछि कम्पनीलाई कच्चा पदार्थ व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।
नाफाको मार्जिन निरन्तर खुम्चिँदै
कम्पनीको सञ्चालन नाफा मापन गर्ने इबिट्डा मार्जिनसमेत पछिल्ला वर्षमा घट्दै गएको छ ।
आर्थिक वर्ष २०७९/८० मा ७.८५ प्रतिशत रहेको इबिट्डा मार्जिन २०८०/८१ मा ५.८० प्रतिशत र २०८१/८२ मा ५.१० प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको नौ महिनामा यो अझ घटेर ४.७३ प्रतिशत पुगेको छ ।
करपछिको नाफामा पनि यस्तै दबाब देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा करिब ३० लाख रुपैयाँ रहेको नाफा २०८१/८२ मा घटेर करिब १० लाख रुपैयाँमा सीमित भएको थियो ।
यसले कम्पनीको ठूलो कारोबार भए पनि त्यसलाई पर्याप्त नाफामा रूपान्तरण गर्न कठिन भइरहेको देखाउँछ ।
‘ज्ञान’ र ‘आशीर्वाद’को बजार विस्तार
विकाश फुडले ‘ज्ञान’ र ‘आशीर्वाद’ ब्रान्डअन्तर्गत आटा, मैदा, चामल, मसला, चिउरा, भुजा तथा खाजाजन्य खाद्य सामग्री बिक्री गर्दै आएको छ ।
कम्पनीले १४ वटा वितरण केन्द्रमार्फत आफ्ना उत्पादन बजारमा पुर्याउँदै आएको छ । ग्रामीणदेखि सहरी बजारसम्म ब्रान्डको पहुँच रहेको र उत्पादन विविधीकरणले नियमित माग कायम राख्न सहयोग गरेको उल्लेख छ ।
कम्पनीको कारखाना बाँकेको कोहलपुरमा रहेको छ । भारतको रुपैडिहा नाकाबाट करिब १८ किलोमिटर दूरीमा रहेको कारखानाको अवस्थिति भारतबाट कच्चा पदार्थ आयात गर्ने कम्पनीका लागि ढुवानी समय र लागत व्यवस्थापनका दृष्टिले उपयोगी मानिएको छ ।
५२ हजार टन उत्पादन क्षमता
कम्पनीका प्रमुख उत्पादन मैदा, आटा, सुजी र ब्रानको कुल जडित उत्पादन क्षमता वार्षिक करिब ५२ हजार मेट्रिक टन रहेको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा यी उत्पादनको क्षमता उपयोग करिब ७३ प्रतिशत पुगेको छ । अघिल्ला दुई आर्थिक वर्षमा करिब ६८ प्रतिशत रहेको क्षमता उपयोगमा सुधार आए पनि कारखाना अझै पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
क्षमता उपयोग बढाउन सके उत्पादनको प्रतिइकाइ लागत घटाउन सहयोग पुग्न सक्नेछ । तर त्यसका लागि बजार माग, कच्चा पदार्थको उपलब्धता र लागत व्यवस्थापन महत्वपूर्ण हुनेछ।
कच्चा पदार्थ मौज्दातमा ठूलो रकम
गहुँ र धानको मौसमी उपलब्धता तथा मूल्यमा हुने परिवर्तनका कारण कम्पनीले उत्पादन निरन्तर राख्न तीनदेखि छ महिनासम्मको कच्चा पदार्थ मौज्दात राख्नुपर्ने अवस्था छ ।
यसले कम्पनीको कार्यशील पुँजीमा ठूलो रकम बाँधिने गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ८७ दिन रहेको औसत मौज्दात अवधि २०८१/८२ मा बढेर १२५ दिन पुगेको छ। ग्राहकबाट रकम उठाउन लाग्ने औसत अवधि पनि ६० दिनबाट बढेर ६१ दिन पुगेको छ ।
यसको परिणामस्वरूप कम्पनीको सञ्चालन चक्र १४० दिनबाट बढेर १७७ दिन पुगेको छ।
प्रतिस्पर्धाबीच नाफा बढाउने चुनौती
विकाश फुड सन् १९९४ मा स्थापना भएको कम्पनी हो । केएल दुगड समूहअन्तर्गत सञ्चालन हुँदै आएको कम्पनीले तीन दशकभन्दा लामो समयदेखि खाद्य प्रशोधन तथा बिक्री व्यवसाय गर्दै आएको छ ।
नेपालको मैदा, आटा तथा कृषि प्रशोधन क्षेत्रमा संगठित र असंगठित दुवै क्षेत्रका उत्पादकबीच प्रतिस्पर्धा छ । स्थापित ब्रान्ड भए पनि कम्पनीले स्वदेशी उत्पादकसँगै आयातित खाद्य सामग्रीसँग समेत प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।
यसले उत्पादनको मूल्य निर्धारणमा दबाब सिर्जना गर्ने गरेको छ। अर्कोतर्फ कच्चा पदार्थको मूल्य, आयातमा निर्भरता, कार्यशील पुँजीको आवश्यकता र ऋणको भारले समेत नाफा मार्जिनमा दबाब पारिरहेको देखिन्छ ।
त्यसैले विकाश फुडका लागि आगामी दिनमा चुनौती केवल कारोबार बढाउनु नभई बढ्दो कारोबारलाई पर्याप्त नाफामा रूपान्तरण गर्नु रहेको देखिन्छ ।
क्षमता उपयोग बढाउने, कच्चा पदार्थको लागत नियन्त्रण गर्ने र कार्यशील पुँजी व्यवस्थापन सुधार गर्न सके कम्पनीको नाफामा सुधार ल्याउने आधार बन्न सक्नेछ ।


विश्व खबर 



















