images
images
  • काठमाडौंका सडकमा महँगा सौर्यबत्ती टिकेनन्, १७ सय बिजुली बत्ती जडान गरिदै

    विष्णु पाण्डेय /काठमाडौं

    काठमाडौं उपत्यकाका सडकमा जडान भएका अधिकांश सौर्यबत्ती बिग्रिएका छन् । कतिपय बत्ती फ्यूज त कतिपय ब्याट्री बिग्रिएका कारण पनि बल्न सकेका छैनन् । १८ औँ सार्क शिखर सम्मेलनका लागि भन्दै नेपाल विद्युत प्राधिकरण र काठमाडौँ महानगरले महानगरका मुख्य सडकमा सोलार बत्ती जडान गरेको थियो । तर, बत्तीको उचित मर्मत हुन नसक्दा बत्तीहरु काम नगर्ने अवस्थामा पुगेका हुन् ।

    काठमाडौँ महानगर अन्तर्गतको सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार सडक बत्तीको समस्या सल्टाउन अब विद्युतीय बत्ती मात्र बाल्ने योजना रहेको छ । सोलार बत्ती हटाउने योजना छ । मुख्य सडकमा एक हजार ७०० थान सडकबत्ती जडान गर्ने योजना रहेको थापाको भनाइ छ । दसैँ अगाडि नै काम सुरु गर्ने योजना रहे पनि काम सुरु हुन नसकेको बताए । ‘अघिल्लो आर्थिक वर्षमै विद्युत प्रधिकरण र महानगरबीच समन्वय भएर काम गर्ने सम्झौता भयो । लागत महानगरले व्यहोर्ने गरेर काम अगाडि बढेको हो’, उहाँले भन्नुभयो, ‘दसैँ अगाडि नै काम सुरु गर्ने तयारी नै थियो तर केही समस्याले रोकिएको छ । तर, काम चाँडै सुरु हुन्छ ।’

    पहिले नेपालमा विद्युत्को अभाव भएका कारण विकल्पमा सोलार बत्ती जडान गरिएको थियो । तर, अहिले विद्युतको समस्या नभएका कारण सोलार बत्तीलाई विस्थापित गरेर विद्युतीय बत्ती राख्ने तयारी भएको हो । ‘पहिले विकल्पमा सोलार बत्ती प्रयोग गरियो तर ती सोलार मर्मतका लागि आवश्यक सामग्री बाहिरी देशबाट ल्याउनु पर्नेहुँदा महंगो भयो’, उनले भने, ‘पैसा विदेशिने पनि देखियो । यसको अवधि पनि छोटो भएका कारण चार–पाँच वर्षमै करोडौं खर्च गर्नुपर्ने भयो ।’

    सोलारका प्यानल पनि धुलोका कारण काम गर्न सक्ने अवस्थामा छैनन् । प्राधिकरणसँग पनि विद्युत प्रशस्त भएका कारण अब सबै विद्युतीय बत्ती जडान गर्ने योजना रहेको थापाले सुनाउनुभयो । एयरपोर्ट, कलंकी, बैद्व, त्रिपुरेश्वर, बुढानीलकण्ठ, पुतलिसडक, बालुवाटार लगायतका ठाउँ गरेर काठमाडौंका ६० किलोमिटर सडकमा विद्युतीय बत्ती जडानको काम हुनेछ ।

    महानगरले साढे एक अर्ब बक्यौता बुझाउन बाँकी
    काठमाडौं महानगरले सडक बत्ती वापतको साढे एक अर्ब बढी रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी रहेको छ । प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार महानगर भित्रका रत्नपार्क वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र, कुलेश्वर वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रबाट गरी अहिलेसम्म एक अर्ब ७३ करोड ९२ हजार ८४९ रुपौयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।

    शाखा सडकमा महानगरकै बत्ती
    काठमाडौं महानगरभित्रका शाखा सडकमा महानगरले आफ्नै लगानीमा सडक बत्ती राख्ने भएको छ । महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार महानगरका ३२ वटै वडासँग समन्वय गरेर सडक बत्तीको जडान गर्ने कार्य जारी राखिएको बताउनुभयो । सडक बत्तीका लागि प्रत्येक वडाका लागि वार्षिक रुपमा रकम नै निकासा गर्ने गरिएको उनले सुर्नाए ।

    शाखा सडकका बत्तीमा बार्षिक छ करोड खर्च
    महानगरभित्रका शाखा सडकमा जडान भएका बत्तीमा वार्षिक छ करोड रकम खर्च हुने गरेको छ । महानगर भित्रका ३२ वडामा जडान भएका बत्तीका लागि महानगरले वडासँग समन्वय गरेर वार्षिक ६ करोड रुपैयाँ बत्तीका लागि छुट्याउने गरेको सार्वजनिक निर्माण विभाग प्रमुख थापाको भनाइ छ ।

    सरकारले भने मात्र सम्पत्ती कर तिर्छौः प्राधिकरण
    नेपाल विद्युत प्राधिकरणले पनि सम्पत्ती कर नबुझाएको महानगरले जनाएको छ । तर, प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले प्राधिकरण राज्यको सम्पत्ती भएकाले महानगरमै रहे पनि कर तिर्नु नपर्ने बताउनुभयो । ‘प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको कार्यालय हो, राज्यले कर तिर्नुपर्छ भन्यो भने मात्र तिर्छौँ,’उनले भने ।

    मौजुदा कानुनमै बेखबर महानगर
    महानगरपालिकाले प्राधिकरणले सम्पत्ती कर बुझाउन बाँकी रहेको जनाएको छ । तर, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएअनुसार दफा ९५५० को उपदफा ९५० बमोजिम नेपाल सरकारको स्वामित्वमा रहेको सरकारी संस्थानले सम्पत्ति कर बुझाउनु नपर्ने उल्लेख छ । तर, महानगरले भने प्राधिकरणले सम्पत्ति कर नबुझाएको आरोप लगाउदैं आएको छ ।

    अदातलमा मुद्दा परेकाले काम रोकियो
    अदालतमा मुद्दा परेकाले महानगरका सडकमा सडक बत्ती जडानको काम अहिले रोकिएको छ । प्राधिकरणका एक अधिकारी सागर ज्ञवालीका अनुसार टेन्डरको विषयलाई लिएर मुद्दा परेपछि काम रोकिएको हो । प्राधिकरणले टेन्डर आह्वान गरिसकको थियो । तर, ठेकदारले मुद्दा दर्ता गराएकाले कार्य रोकिएको बताए । ‘अहिले नै काम सुरु गर्ने भनेर नयाँ आर्थिक वर्ष सुरु भएसँगै टेन्डर आह्वान गरिएको थियो । तर, अदालतमा मुद्दा पर्यो । अहिले काम रोकिएको छ । फैसला आउनासाथ काम सुचारु हुन्छ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images