काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको ‘अर्थचित्र’ विमोचन तथा आर्थिक पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालमा स्रोत र साधन प्रशस्त मात्रामा भए पनि त्यसलाई परिचालन गर्ने कला नभएर देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताए ।
कार्यक्रममा उनले भने, ‘हामीसँग साधन स्रोतको समस्या होइन । हामीसँग पुँजीको पनि त्यति समस्या होइन । हामीसँग श्रमको समस्या होइन । हामीसँग व्यापारको पनि समस्या होइन । हामीसँग व्यवस्थापनको मात्र समस्या छ । व्यवस्थापन गर्ने कलामा विकास गरे अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।’
अर्थमन्त्री शर्माले भएको साधन स्रोतको व्यवस्थापन मात्र गर्न सकियो भने नै पर्याप्त हुने धारणा राखे । उनले निजी क्षेत्र निजी स्वार्थमा आधारित नभएको बताए । ‘निजी क्षेत्र राष्ट्र निर्माण र आर्थिक विकासमा आधारित छ,’ उनले भने, ुनिजी क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिए पनि सार्वजनिक क्षेत्र भताभुङ्ग भइरहेको हुन्छ ।’
निजी क्षेत्र र सरकारबीचको आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य रहेको उनले बताए । साथै, उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि र लगानीलाई परिणाममुखी बनाउनका लागि सरकारको तर्फबाट विभिन्न खालका सहुलियतहरू दिनुपर्ने आवश्यकता रहेकोसमेत बताए । उनले भने, ‘निजी क्षेत्रमा केही राहतका कार्यक्रम भए पनि मागेजस्तो नभएको भन्ने धेरै गुनासो छ । यसका लागि सरकारले प्रयास गरिरहेको छ । निजी क्षेत्रको सल्लाहअनुसार नै अगाडि बढ्न सरकार प्रयत्नरत रहेको छ ।’
निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नुपर्छ भन्ने छैन । अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा लगानी गर्न पर्नेमा पनि उनले जोड दिए ।
निजी क्षेत्रको सहयोगले नेपालको आर्थिक विकासमा ठूलो योगदान पुगिरहेको उनको भनाइ थियो । अर्थमन्त्री शर्माले भने, ‘अघिल्ला वर्षको तुलनामा अहिलेको हाम्रो अर्थतन्त्रले चालू खर्चलाई नै धान्न गाह्रो परेको अवस्था छ । जसका कारण पुँजीगत खर्च गरेर पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा रोजगार लगायत क्षेत्रमा लगानी गर्न सरकारलाई समस्या परेको छ ।’
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारले गर्नपर्ने सहयोग गर्दै आएको दाबी गरे । उनले व्यवसायीलाई करमा छुट दिने तथा बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता नियन्त्रण गर्न सहयोग पुर्याउँदै आएको उल्लेख गरे ।
उनले भने, ‘राष्ट्र बैंकले कारोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई पनि सरकारले सहुलियत ऋण तथा व्याजदर नियन्त्रण लगायतको सुविधा दिँदै आएको छ । साथै, राष्ट्र बैंकले कर्जाको ब्याज भुक्तानीको लागि समय थप, ब्याज पुँजीकरणको सुविधा पुनकर्जा सुविधालगायतको सुविधा दिँदै आएको छ । केन्द्रीय बैंकले साना निक्षेपकर्ता एवं ऋणिले प्राप्त गर्ने सेवा सुविधामा विशेष ध्यान दिएको छ ।’ निजी पक्षलाई सँगै लिएर अघि बढ्न सकेमा अर्थतन्त्रले ठूलो फड्को मार्ने उनको भनाइ छ । उनले वैदेशिक लगानीलाई प्रवर्द्धन गरेर पनि नेपालको अर्थतन्त्र उकास्न सहयोग पुग्ने बताए ।
त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले उद्योगीलाई ठूलो योगदान पुर्याएको बताए । उनले नेपालमा कोरोना महामारीले पुर्याएको नोक्सानमा केन्द्रीय बैंकको कुशल व्यवस्थापनले ८० प्रतिशत समस्या कम हुँदै गएको बताए ।
कोरोना महामारीले देशको अर्थतन्त्रमा ठूलो नोक्सान परेको बताउँदै उनले पर्यटनमा जोड दिनुपर्ने बताए । अझै केही नीतिगत सुधार गरेर पर्यटन भित्र्याउन अझै हवाई उडानको संख्या बढाउनुपर्ने बताए । पहिलाकै स्थितिमा उडान भए पर्यटक भित्रिने छ ।
पर्यटनले ६ देखि ७ प्रतिशतसम्म अर्थतन्त्र धानेको बताउँदै उनले एमससी पास गर्न पर्नेमा पनि जोड दिए ।


विश्व खबर 




















