काठमाडौं-बढेको सेयर बजारमा १७ अंकको ब्रेक लागेको छ। अघिल्लो हप्तादेखि उच्च अंकले बढेको नेप्सेमा सोमबार करेक्सन भएको हो। आज नेप्से सूचक १७.७५ अंकले घटेर दुई हजार आठ सय १९.८६ बिन्दुमा पुगेर बन्द भएको छ।
आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्सनमा पनि गिरावट आएको छ। सेन्सेटिभ इन्डेक्स १.८८ अंकले घटेर पाँच सय २८.५८ बिन्दुमा पुगेको छ। यद्यपि, बैंकहरूको त्रैमासिक रिपोर्ट आउने वेला भएको र कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम रहेकाले सेयर बजारमा भोलिका दिन लामो करेक्सनमा जाने संकेत नदिएको लगानीकर्ताहरू बताउँछन्।
कारोबारमा आउने १३ वटै समूहको सूचकमध्ये आज जलविद्युत्, फाइनान्स र माइक्रो फाइनान्समा सर्वाधिक गिरावट आएको छ। वाणिज्य बैंक, होटेललगत क्षेत्रमा सामान्य सुधार आएको छ। नेप्से घटे पनि सेयर खरिद–बिक्री रकममा कमी आएको छैन। धितोपत्र र ऋणपत्र गरी आज कारोबारमा आएका दुई सय २६ कम्पनीका एक करोड ३४ लाख सेयर खरिद बिक्री हुँदा सात अर्ब ७७ करोड ७५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
आज सर्वाधिक सेयर खरिद–बिक्री महालक्ष्मी विकास बैंकको भएको छ। बैंकको ३६ करोड ५८ लाख रुपैँयाबराबरको सेयर कारोबार भएको छ। त्यसैगरी आरएमडिसी लघुवित्तको ३६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंक, कामना सेवा विकास बैंक र अरुणभ्याली हाइड्रोपावर कम्पनीको ३४ करोड रुपैयाँदेखि २१ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ।


विश्व खबर 




















