images
images
  • म्याग्दीको दोबामा बाख्रा पकेट, स्वरोजगार बन्दै युवाहरु

    म्याग्दी-  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबालाई बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट० बनाइएको छ । अन्नपूर्ण गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत बाख्रापालनलाई व्यावसायिक बनाउन दोबामा पकेट क्षेत्र बनाएको हो ।

    निर्वाहमुखी परम्परागत रुपमा गरिँदै आएको बाख्रापालनलाई आधुनिक र व्यवस्थित बनाउन पकेट कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष दिलीप गर्बुजाले बताए । ‘हाम्रो वडामा म्याग्दी जिल्लामै धेरै बाख्रापालन भएको छ । परम्परागत हिसाबले गरेको बाख्रापालन व्यवस्थित छैन्’, उनले भने, “बाख्रापालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर आयआर्जन बढाउने तथा जीवनस्तर सुधार गर्ने लक्ष्य हो ।’

    दुई सय ५० भन्दा बढी घरधुरीको बसोबास रहेको दोबामा व्यावसायिक बाख्रापालन गर्ने किसानको संख्या ५६ घरधुरी छ । एउटा फार्ममा ४० भन्दा बढीका दरले बाख्रा पालेका छन् । फिरन्ते शैलीमा गरिएको सातवटा गोठमा करिब २० हजार भेडा पालेका छन् ।

    गत आर्थिक वर्ष ०७७–७८ देखि सुरु भएको बाख्रा पकेट कार्यक्रमबाट बाख्राको खोर र गोठ सुधार गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका पशुसेवा प्राविधि प्रकाश घर्ती क्षेत्रीले दुईवटा समूहलाई एकीकृत गरी दोवा बाख्रा पकेट सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन भएको जानकारी दिए । ‘समितिमा हाल ३० जना कृषक आवद्ध भइसकेका छन्’, उनले भने, ‘छुटेका किसानलाई यस वर्षको कार्यक्रममा समेट्छौ ।’

    गत आर्थिक वर्षमा विनियोजन भएको १५ लाख रुपैयाँ बजेटबाट पाँचवटा नयाँ खोर निर्माण, एक÷एक वटा दाना दिने टहरा र गोठ सुधार गरिएको छ । स्थानीय जमुनापारी र खरी जातका बाख्राको नश्ल सुधार गर्न उन्नत बोयर जातको एकवटा ७५ प्रतिशत क्रस बोका खरिद भएको छ । बाख्रालाई आन्तरिक र बाह्य परजीविविरुद्धको खोप लगाउने र कृषकलाई औषधि वितरण गरिएको छ । दोबाको बाख्रा पकेट कार्यक्रमलाई चालु आर्थिक वर्षमा सात लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

    विदेशमा कडा परिश्रम गर्दासमेत अपेक्षाकृत आम्दानी हुन नसकेपछि फर्किएका युवाहरुले जीविकोपार्जनका लागि बाख्रा पाल्न थालेका हुन् । १० वर्ष साउदीमा काम गरेर घर फर्किएर बाख्रापालन गरेका दोवाका वीरेन्द्र गर्बुजा विदेशमा गर्ने परिश्रम गाउँमै गरेमा फाइदा हुने बताउँछन् ।

    विदेशको कमाइ दिगो नहुने बताउँदै उनले घरपरिवारसँगै गाउँमै बसेर बाख्रा पाल्दा सुख र सन्तुष्टि मिलेको बताए । पाँच लाख ६७ हजार रुपैयाँमा ६३ वटा बाख्रा किनेर थप एक लाख रुपैयाँ लगानी गरी बाख्रा पाल्न सुरु गरेका थिए ।

    एक वर्षको अवधिमा करिब २० वटा बाख्रा, खसी, बोका र पाठापाठी बेचेका गर्बुजाको फार्ममा अहिले ७० वटा बाख्रा छन् । स्वरोजगार बन्नुका साथै घरखर्च चलाउन र छोराछोरी पढाउन बाख्रा पालनबाट भएको आम्दानीले पुगेको गर्बुजाको भनाइ छ ।

    खाडी मुलकमा कामको खोजीमा एक दशकभन्दा बढी समय भाँैतारीएका दोवाका उमेश पुर्जा पनि अहिले बाख्रापालनमा लागेका छन् । ९० वटा बाख्रा पालेका गर्बुजा र उनकी श्रीमती स्वरोजगार बनेका छन् । खसीबोका र बाख्रा, पाठा खरिद गर्न ग्राहक गाउँमै आउने भएकाले बजारको समस्या नरहेको उनीहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images