images
images
  • दसैँ–तिहारमा सडक दुर्घटना र मानवीय क्षति घट्यो, ट्राफिक राजस्व झन्डै दोब्बर

    काठमाडौं – चितवनमा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको छ । तर, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलनमा भने उल्लेख्य वृद्धि भएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सडक दुर्घटना घटेका छन् भने ट्राफिक कारबाही र राजस्व सङ्कलन बढेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।

    चालु आर्थिक वर्ष २०८३/८४ मा असोज २५ देखि कात्तिक २६ गतेसम्म भने ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् । यसरी गत वर्षको तुलनामा दुर्घटनाको सङ्ख्या र त्यसबाट हुने मानवीय क्षति दुवै घटेको देखिन्छ ।

    सडक दुर्घटना घटे पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही भने बढेको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । त्यसबाट नौ लाख २४ हजार ५३१ रुपैयाँ जरिवाना सङ्कलन भएको थियो ।

    चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । ती सवारीसाधनमाथि गरिएको कारबाहीबाट १७ लाख ७२ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको कारबाही भने यस वर्ष घटेको छ । गत आर्थिक वर्षमा मापसे गरी सवारी चलाउने ६९ जनामाथि कारबाही गर्दा ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा ५६ जनामाथि कारबाही हुँदा ३० हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    त्यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही भएको थिएन । चालु आर्थिक वर्षमा भने त्यस्ता २४ वटा कारबाही भएका छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले चाडपर्वलाई लक्षित गरी गरिएको कडा ट्राफिक जाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही तथा जनचेतनामूलक कार्यक्रमका कारण दुर्घटना र मानवीय क्षतिमा कमी आएको बताए ।

    उनले चाडपर्वको समयमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेका छन् । सुरक्षित यात्रालाई प्राथमिकता दिन चालक तथा यात्रुलाई उनको अनुरोध छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images