images
images
  • रवि र गगनको मधेश यात्रा : आस्था, जनसम्पर्क र राजनीतिक समीकरण

    काठमाडौं – मधेशको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको छठ पर्व पछिल्लो समय धार्मिक आस्थासँगै राजनीतिक भेटघाट र जनसम्पर्कको अवसर पनि बन्दै गएको छ । यस वर्ष छठ मनाउन मधेश पुगेका शीर्ष राजनीतिक नेताहरूको उपस्थितिले पर्वलाई थप चर्चामा ल्याएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधाम पुगेका छन् । उनले गंगासागर पोखरीमा आयोजित छठ पूजामा सहभागिता जनाए । प्रतिनिधिसभाका सभामुख डिपी अर्याल पनि छठकै अवसरमा बाराको सिमरा पुगेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा पत्नी डा. अञ्जना केसी थापासहित सर्लाही पुगेका छन् । थापाले छठ पर्वले नेपाली समाजमा सकारात्मकता फैलाउन प्रेरित गरोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

    नेताहरूको यो उपस्थितिलाई धार्मिक सहभागिताका रूपमा मात्र हेरिएको छैन । मधेशको जनमत र राजनीतिक प्रभावसँग जोडेर पनि यसको व्याख्या हुन थालेको छ । खासगरी गत निर्वाचनमा मधेशमा रास्वपाले उल्लेख्य जनमत प्राप्त गरेको थियो । आगामी फागुनमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर पनि नेताहरूको मधेश भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । चाडपर्वका अवसरमा स्थानीय समुदायसँग भेटघाट गर्नु, उनीहरूको भावना बुझ्नु र आफ्नो उपस्थिति देखाउनु राजनीतिक दलका लागि जनसम्पर्क विस्तारको अवसर बन्ने गरेको छ ।

    लामिछानेको जनकपुर भ्रमणलाई रास्वपाको मधेश प्रदेशमा देखिएको सांगठनिक समस्यासँग जोडेर पनि हेरिएको छ । पार्टीले अन्य प्रदेशमा अधिवेशन प्रक्रिया अघि बढाए पनि मधेशका आठ जिल्लामध्ये पर्सामा मात्रै जिल्ला अधिवेशन सम्पन्न गरेको थियो । बाँकी जिल्लामा विवादका कारण अधिवेशन प्रक्रिया रोकिएको थियो । त्यसको असर केन्द्रीय महाधिवेशनका प्रतिनिधि छनोटमा समेत परेको थियो ।

    संगठनात्मक समस्याको अध्ययन गर्न रास्वपाले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेश अडिट’ समिति गठन गरेको थियो । समितिले आठै जिल्लामा समान प्रकृतिका समस्या देखिएको निष्कर्षसहित पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा विधिबाहिर भएका अधिवेशन प्रक्रिया खारेज गरी सहमतिका आधारमा नयाँ तदर्थ समिति गठन गर्न सुझाव दिइएको छ ।

    संगठनभित्र पुराना र नयाँ सदस्यबीचको द्वन्द्व, पदाधिकारीबीचको असमझदारी, सांसदहरूको संगठनमा चासो तथा स्थानीय तहमा उम्मेदवार बन्न चाहनेहरूबीचको प्रतिस्पर्धाले समस्या बढाएको बताइन्छ । पार्टीभित्र रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहनिकट समूहबीच प्रभाव विस्तारको प्रतिस्पर्धा रहेको चर्चा पनि हुँदै आएको छ । यद्यपि, यी आन्तरिक असमझदारीबारे पार्टीले प्रतिवेदन अध्ययनपछि औपचारिक निष्कर्ष सार्वजनिक गर्न बाँकी छ ।

    यस्तो अवस्थामा लामिछानेको जनकपुर भ्रमणलाई संगठनको अवस्था बुझ्ने र स्थानीय नेता–कार्यकर्तासँग सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि हेरिएको छ । तर, रास्वपाका नेताहरूले भने उनको भ्रमणलाई सांस्कृतिक तथा धार्मिक सहभागिताका रूपमा व्याख्या गरेका छन् ।

    कांग्रेस सभापति गगन थापाको सर्लाही भ्रमण पनि राजनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ । गत निर्वाचनमा उनी सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भए पनि त्यस क्षेत्रका मतदाता र स्थानीय राजनीतिक वृत्तसँग सम्बन्ध कायम राख्नु उनका लागि महत्त्वपूर्ण हुन सक्छ । सर्लाहीपछि वीरगन्ज पुगेर स्थानीयसँग संवाद गर्ने र प्रदीप गिरी फेलोसिपको शुभारम्भ कार्यक्रममा सहभागी हुने उनको कार्यक्रम छ ।

    सभामुख अर्यालले छठका अवसरमा सिमरा पुगेर जातजाति, भाषा, धर्म र भूगोलका आधारमा विविधतायुक्त नेपाली समाजको सहअस्तित्वलाई नेपालको विशेषता बताएका छन् । छठ पर्वले सबैलाई एउटै घाटमा उभ्याउने सांस्कृतिक सन्देश दिन्छ । धार्मिक आस्था र सामाजिक एकताको प्रतीकका रूपमा मनाइने यो पर्व राजनीतिक दलका लागि पनि जनतासँग जोडिने अवसर बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images