काठमाडौं – धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला ढोरपाटन सिकार आरक्षको सहायक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । सडक पहुँच विस्तार, प्रचारप्रसार र गोठस्टे सञ्चालन हुन थालेपछि ढोरपाटन उपत्यका घुम्न आउने पर्यटक जलजला पुग्न थालेका छन् । हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल र प्राकृतिक वातावरणको आनन्द लिन चाहने आन्तरिक पर्यटकको आकर्षण जलजलातर्फ बढेको हो ।
बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना, खोरिया, मरेनी, जलजला हुँदै ढोरपाटनबाट पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा पर्यटकको आवागमन बढेको स्थानीयले बताएका छन् । समुद्री सतहदेखि तीन हजार ४१८ मिटर उचाइमा रहेको माथिल्लो जलजलामा सात वर्षदेखि गोठस्टे सञ्चालन गर्दै आएका धवलागिरि गाउँपालिका–२ लुलाङका फुलबहादुर विकका अनुसार पछिल्लो समय दैनिकजसो पर्यटक पुग्न थालेका छन् ।
“यसअघि ढोरपाटनमा आएका सीमित पर्यटक मात्रै जलजलामा आउने गरेका थिए,” उनले भने, “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार–पाँच वटा गाडी तथा १५–२० वटा मोटरसाइकलमा पर्यटक आउन थालेका छन् ।”
बेनीदेखि १२२ किलोमिटर दूरीमा रहेको पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग गत फागुनमा खुलेपछि पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउने पर्यटकले जलजलादेखि मुना हुँदै फर्कने मार्ग बनाउन थालेका धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विश्वकर्माले बताए । मोटरसाइकल र गाडीमा यात्रा गर्नेका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको उनको भनाइ छ ।
सात जनाको समूहमा मोटरसाइकलबाट जलजला हुँदै ढोरपाटन पुगेर फर्किएका बेनीका व्यवसायी कृष्णराज पौडेलले नयाँ सडकमार्गको यात्रा साहसिक र रोमाञ्चक भएको अनुभव सुनाए । उनका अनुसार सडक यात्रासँगै जलजलाको प्राकृतिक सुन्दरताले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
जङ्गलको शिरमा फैलिएको समथर घाँसेमैदान, पृष्ठभूमिमा देखिने हिमालको लामो लर्कन, बिहानको सूर्योदय र साँझको सूर्यास्त जलजलाका प्रमुख आकर्षण हुन् । वसन्त ऋतुमा पाखाभरि फुल्ने लालीगुराँस, वन्यजन्तु तथा चराचुरुङ्गीको आवाज र बस्तीबाट टाढाको शान्त वातावरणले पनि यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ ।
रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका भीषण खत्रीले जलजलाको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले आफूलाई आकर्षित गरेको बताए । “शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी र पशु गोठमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ,” उनले भने, “समथर फाँटमा बसेर आँखैअगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो ।”
जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालको दृश्यावलोकन गर्न सकिन्छ । बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल र वनजङ्गलको अवलोकन गर्न पाइन्छ भने वसन्त ऋतुमा गुराँसे जङ्गल यहाँको अर्को आकर्षण हो ।
गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा स्थायी बस्ती, होटल तथा रेस्टुरेन्ट छैनन् । तल्लो र माथिल्लो जलजलाका गोठमा पर्यटकलाई खाना र बसोबासको सुविधा उपलब्ध छ । गोठस्टेमा च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैँसीको दूध तथा दही र भेडा तथा खसीको मासु खान पाइन्छ । क्याम्पिङ गर्न चाहने पर्यटकले भने आवश्यक बन्दोबस्तीका सामग्री आफैँ लैजानुपर्छ ।
ढोरपाटनको पाखाथरबाट कच्ची सडक हुँदै जिप वा मोटरसाइकलमा करिब एक घण्टा ३० मिनेटमा जलजला पुग्न सकिन्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट भने जिप र मोटरसाइकलमा करिब दुई घण्टा लाग्छ । जलजला क्षेत्रको जङ्गल दुर्लभ वन्यजन्तु हाब्रे अर्थात् रेडपान्डाको बासस्थानसमेत भएकाले यसको प्राकृतिक तथा पर्यटकीय महत्त्व थप बढेको छ । दुईतर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्ने स्थानीय बताउँछन् ।
जलजला धवलागिरि गाउँपालिकाका मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र पनि हो । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार मुनादेखि ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खोल्नुको एउटा उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु पनि हो । बर्खामा अवरुद्ध हुने सडकमा जिप र मोटरसाइकल चल्न सक्ने बनाउन थप मर्मतको प्रयास भइरहेको उनले बताए ।
गत वर्ष गाउँपालिकाले जलजलामा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्था गर्नुका साथै पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार गुर्जा, ढोरपाटन, जलजला, मुनामालिका र ताकमकोट जोड्ने रेडपान्डा पदमार्गको अवधारणा अघि सारेर सम्भाव्यता अध्ययन भइरहेको छ ।
तर, ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पर्ने भएकाले जलजलामा पर्यटकीय पूर्वाधार विस्तार गर्न नीतिगत समस्या रहेको अध्यक्ष पुनले बताए । प्राकृतिक सौन्दर्य, सडक पहुँच र गोठस्टेको सुविधाले पर्यटक आकर्षित हुन थाले पनि व्यवस्थित पर्यटन विकासका लागि आवश्यक पूर्वाधार विस्तार र नीतिगत सहजीकरण चुनौतीका रूपमा देखिएको छ ।






















