काठमाडौं – मेक्सिकोका कुख्यात व्यक्ति लागू औषध दुनियाँका सम्राट् तथा तस्करी गिरोहहरूमध्ये एक ग्वादालाहारा कार्टेलका संस्थापक मिगुएल एन्जेल फेलिक्स गालार्डोको ८० वर्षको उमेरमा अस्पतालमा निधन भएको छ । स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार दुई दिनअघि उनलाई पश्चिमी सहर ग्वादालाहारास्थित एक निजी अस्पतालमा सारिएको थियो । शरीरका विभिन्न अङ्गले काम गर्न छाडी सकेका उनको आइतबार दिउँसो करिब २ बजे ९२०ः०० (जीएमटी) उनको मृत्यु भएको हो ।
ग्वादालाहारा कार्टेलका संस्थापक फेलिक्स गालार्डोलाई सन् १९८५ मा अमेरिकी लागू औषध नियन्त्रण निकायका एक एजेन्टको हत्यामा दोषी ठहर गरिएको थियो । सो घटनाले उनलाई मेक्सिकोका सबैभन्दा कुख्यात लागू औषध तस्करमध्ये एक बनाएको थियो । सन् १९८९ देखि जेलमा रहेका फेलिक्स गालार्डोलाई पश्चिमी राज्य जलिस्कोस्थित उच्च सुरक्षा कारागारमा राखिएको थियो । यद्यपि, स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनका वकिलहरूले पटक पटक उनलाई घरमै नजरबन्दमा राख्न माग गरेका थिए ।
सन् १९७० को दशकमा प्रभावशाली बनेका यी पूर्व कार्टेल प्रमुख मेक्सिकोको आधुनिक लागू औषध तस्करी सञ्जालका योजनाकारमध्ये एक थिए । उनले सुरु गरेको क्षेत्रीय वर्चस्वको सङ्घर्षले त्यसपछिका दशकमा लाखौँ मानिसको ज्यान जाने र बेपत्ता हुने घटनाहरूको शृङ्खला नै निम्त्याएको थियो ।
सन् १९४६ मा उत्तर पश्चिमी राज्य सिनालोआको कुलियाकानमा जन्मिएका उनी पछि लागू औषध तस्करीका लागि कुख्यात बनेको क्षेत्रमै हुर्किएका थिए । उनले प्रहरी अधिकारीका रूपमा काम गर्नुका साथै एक स्थानीय गभर्नरको अङ्गरक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए । पछि उनी शक्तिशाली आपराधिक गिरोहका नाइकेका रूपमा स्थापित भए र ‘बोस अफ बोसेस’ अर्थात् ‘नाइकेहरूका पनि नाइके’ भनेर चिनिन थाले ।
फेलिक्स गालार्डो र उनका सहयोगीहरूले जलिस्को राज्यको राजधानी तथा तीव्र गतिमा आर्थिक विकास भइरहेको सहर ग्वादालाहारामा कार्टेल स्थापना गरेका थिए। उनीहरूको गिरोहले ठुलो परिमाणमा अमेरिकामा कोकिन पुर्याउने र कोलम्बियाका लागू औषध कारोबारीहरूसँग गठबन्धन बनाउने काम सुरु गरेको थियो । त्यसमा पाब्लो एस्कोबारको मेडेलिन कार्टेल पनि समावेश थियो ।
भ्रष्ट सरकारी अधिकारीहरूलाई घुस दिएर संरक्षण प्राप्त गरेका कारण सन् १९७० र १९८० को दशकमा उनको लागू औषध साम्राज्य विस्तार हुँदै गएको हो । उनको कार्टेलले लागू औषध ओसारपसारका नयाँ तरिकासमेत अपनाएको थियो। राफेल कारो किन्तेरोजस्ता अन्य प्रभावशाली तस्करको सहयोगमा हलुका विमान प्रयोग गरी महादेशभर लागू औषध पुर्याउने व्यवस्था मिलाइएको थियो ।
उनको कानुनी लडाइँ दशकौँसम्म चल्यो । सन् १९८९ मा पक्राउ परेका फेलिक्स गालार्डोलाई ग्वादालाहारा कार्टेलसँग सम्बन्धित लागू औषध तस्करी र हतियारसम्बन्धी अभियोगमा ४० वर्षको जेल सजाय सुनाइएको थियो । जेलमा रहेकै बेला सन् १९८५ मा अमेरिकी लागू औषध नियन्त्रण निकाय ९डीईए० का एजेन्ट एनरिके ‘किकी’ कामारेना र मेक्सिकन विमान चालक अल्फ्रेडो जाभाला अवेलारको अपहरण तथा हत्यासम्बन्धी छुट्टै मुद्दा पनि उनीमाथि चलाइएको थियो ।
कामारेनाको हत्याले अमेरिका र मेक्सिकोबिच कूटनीतिक विवाद निम्त्याएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न वासिङ्टनले मेक्सिकोमाथि दबाब दिएको थियो ।
सन् २०१७ मा सङ्घीय अदालतले उक्त घटनामा फेलिक्स गालार्डोलाई दोषी ठहर गर्दै थप ३७ वर्षको जेल सजाय सुनाएको थियो । तर उनले हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए । उनको उदय र पतनलाई सन् २०१८ मा नेटफ्लिक्समा प्रसारण भएको चर्चित शृङ्खला ‘नार्कोस ः मेक्सिको’ मा मेक्सिकन अभिनेता डिएगो लुनाले पर्दामा उतारेका थिए ।
जीवनको अन्तिम वर्षहरूमा फेलिक्स गालार्डोको स्वास्थ्य निकै कमजोर बनेको थियो । सन् २०२१ मा अमेरिकी स्पेनिस भाषाको टेलिभिजन नेटवर्क टेलिमुन्डोसँग जेलभित्र गरिएको अन्तर्वार्ताका क्रममा उनी एउटा आँखाले देख्न नसक्ने, लगभग बहिरो र आफैँ हिँड्न नसक्ने अवस्थामा पुगिसकेका थिए । त्यस बेलासमेत उनले आफू निर्दोष रहेको दाबी गरेका थिए ।
उनले भनेका थिए, “३२ वर्ष बितिसकेका छन् । कुनै अपराध नगरेको मानिसका लागि यो अनन्तकालजस्तै हो ।”






















