images
images
  • स्टार लिङ्कको सुस्त गतिले युक्रेनमा समस्या

    काठमाडौं – अमेरिकाको एक महत्त्वपूर्ण स्याटलाइट इन्टरनेट सेवा अझै पनि निकै सुस्त गतिमा सञ्चालन भइरहेको र यसले रुसी आक्रमण रोक्ने युक्रेनको क्षमतामा असर पारिरहेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । ‘हामी यी प्रतिबन्ध हटाइने अपेक्षा गरिरहेका छौँ । जाडो याम सुरु हुनुअघि नागरिकको जीवन र युक्रेनको ऊर्जा पूर्वाधारको सुरक्षा यसैमा प्रत्यक्ष रूपमा निर्भर छ,’ उनले भने ।

    एलन मस्कको स्वामित्वमा रहेको र अमेरिकी सरकारले युक्रेनलाई उपलब्ध गराएको सैन्य प्रयोजनका लागि विकसित स्टार लिङ्क सेवा ‘स्टारसिल्ड’को इन्टरनेट गतिसम्बन्धी समस्या केही सातादेखि जारी छ । जेलेन्स्कीले अमेरिकी सरकार र मस्कको कम्पनीसँग ‘सम्भव भएसम्म नजिक रहेर काम गर्न’ आफूले अधिकारीहरूलाई निर्देशन दिएको बताए ।

    ‘इतिहासको सही पक्षमा उभिनु महत्त्वपूर्ण छ,’ उनले भने । युक्रेनले युद्ध मैदानमा सञ्चारका लागि सामान्य स्टार लिङ्क सेवा प्रयोग गर्दै आएको छ भने युक्रेनको हवाई क्षेत्रमा क्षेप्यास्त्र र ड्रोनलाई बिचमै रोक्न स्टारसिल्ड प्रयोग गरिन्छ । इन्टरनेटको गति सीमित गरिएको विषय पहिलो पटक अक्टोबरमा सार्वजनिक भएको थियो । यसले एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच परस्पर विरोधी भनाइहरू आउन थालेका थिए ।

    मस्कले स्टारसिल्ड अमेरिकी सरकारको नियन्त्रणमा रहेकाले गति सीमित गर्ने विषयमा अमेरिकी सरकार नै जिम्मेवार रहेको बताएका थिए । ट्रम्पले आफ्नो जिम्मेवारी नरहेको दाबी गर्दै अरबपति मस्कलाई उक्त सेवा पुनः पहिलेकै अवस्थामा सञ्चालन गर्न आफूले निर्देशन दिएको बताएका थिए ।

    एक सातापछि सेवा पुनः सामान्य अवस्थामा फर्किन थालेको देखिए पनि त्यसपछि युक्रेनले प्रतिबन्ध अझै कायमै रहेको बताएको थियो । स्टार लिङ्कको कनेक्सनमा देखिएको समस्यासँगै रुसभित्रका तेल पूर्वाधारमाथि युक्रेनले गरेको आक्रमणलाई लिएर जेलेन्स्की र ट्रम्पबिच कूटनीतिक तनाव पनि चुलिएको थियो ।

    ट्रम्पले रुसका तेल प्रशोधन केन्द्रहरूमाथि युक्रेनले गरेको आक्रमणका कारण विश्व बजारमा तेलको मूल्य बढेको बताएका थिए । यता किभले भने मस्कोको युद्ध अभियानको प्रमुख आम्दानीको स्रोत कमजोर पार्न यस्ता आक्रमण महत्त्वपूर्ण रहेको बताउँदै आएको छ ।

    आइतबार जेलेन्स्कीले विद्युत् सब स्टेसनलाई लक्षित गर्दै रुसले पठाएका जेट इन्जिनयुक्त ड्रोन रोक्न युक्रेनलाई कठिनाइ भइरहेको बताए। यसको कारण अग्रपङ्क्ति र अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूमा स्टारसिल्ड टर्मिनलको सञ्चालन गतिमा लगाइएको प्रतिबन्ध अझै कायम रहनु रहेको उनको भनाइ थियो ।

    ‘हाम्रा प्रतिरोधी ड्रोनहरू १६१ किलोमिटर प्रतिघण्टा (१०० माइल प्रतिघण्टा) को गतिमा पुग्दा आफ्ना सञ्चालकसँगको सम्पर्क गुमाउँछन् । त्यसपछि ती रुसी जेट इन्जिनयुक्त ‘शायद’ ड्रोनलाई पछ्याउनै सक्दैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए । उनले इरानी डिजाइनमा आधारित ड्रोनलाई सङ्केत गर्दै यस्तो बताएका हुन् ।

    शुक्रवार जेलेन्स्कीले सोमबारदेखि नै स्टार लिङ्क नेटवर्कमा प्रतिघण्टा करिब १०० माइलको गति सीमा लागू गरिएको बताएका थिए । तर, यो प्रतिबन्ध सम्पूर्ण युक्रेनमा नभई रुसको कब्जामा रहेका क्षेत्रहरूमा मात्र लागू गरिएको उनको भनाइ थियो । ‘यसले राजनीतिक प्रभावसमेत पार्न थालिसकेको छ। यदि तपाईँले त्यहाँ प्रतिबन्ध लगाउनुहुन्छ भने अस्थायी रूपमा कब्जा गरिएका ती क्षेत्रहरू हाम्रा होइनन् भन्ने कुरालाई आंशिक रूपमा स्वीकार गरिरहनुभएको हुन्छ,’ द न्यु योर्क टाइम्स ले जेलेन्स्कीको भनाइ उद्धृत गर्दै लेखेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images