images
images
  • विपद् प्रतिकार्यमा नेपाली सेनाको नेतृत्वदायी भूमिका, हजारौँको उद्धारदेखि पूर्वाधार पुनर्निर्माणसम्म

    काठमाडौं – प्राकृतिक विपद्का घटनामा नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनःस्थापनामा नेपाली सेनाले निर्वाह गर्दै आएको नेतृत्वदायी भूमिका राज्यको विपद् प्रतिकार्य क्षमताको महत्वपूर्ण आधार बनेको छ । पछिल्लो समय भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीसहित विभिन्न क्षेत्रमा भएका प्राकृतिक विपद्का घटनामा सेनाले हवाई, जमिनी तथा सुरुङभित्र जोखिमपूर्ण उद्धार अभियान सञ्चालन गर्दै आफ्नो व्यावसायिक क्षमता प्रदर्शन गरेको छ ।

    गत भदौ र असोजमा भएका बाढीपहिरोका घटनामा ठूलो जनधनको क्षति हुनुका साथै सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा गम्भीर असर परेको थियो । विशेषगरी भोटेकोशी बाढी र असोजको अविरल वर्षापछि बागलुङ, पर्वत, म्याग्दी, मनाङ तथा मुस्ताङलगायतका जिल्लामा स्थानीय बासिन्दा र पर्यटकसमेत प्रभावित भएका थिए ।

    विपद् प्रभावित क्षेत्रमा नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ जनशक्तिसहित ठूलो सङ्ख्यामा फौज परिचालन गरी खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरण गरेको थियो ।

    भोटेकोशी बाढीपछिको उद्धार अभियानमा सेनाले भदौ २४ गतेसम्म ४ हजार ८१ जनालाई हवाई माध्यमबाट उद्धार गरेको थियो । यस क्रममा जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका तीन जनालाई १० दिनपछि जीवितै उद्धार गर्नु सेनाको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ ।

    उद्धारसँगै स्वास्थ्य र मानवीय सेवामा सक्रियता

    विपद् प्रतिकार्यमा सेनाको भूमिका खोज तथा उद्धारमा मात्र सीमित रहेन । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन परिचालित इमर्जेन्सी मेडिकल रेस्पोन्स टिमले ३ हजार ५३५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

    विपद्पछि महामारी फैलिन नदिन प्रभावित क्षेत्रमा निर्मलीकरण, मनोसामाजिक परामर्श तथा राहत सामग्रीको गुणस्तर परीक्षणजस्ता कामसमेत सञ्चालन गरिएको थियो । यसले विपद्का बेला सेनाले सुरक्षा र उद्धारसँगै स्वास्थ्य तथा मानवीय सेवामा पनि महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको देखाउँछ ।

    त्यस्तै, असोजको अविरल वर्षा र बाढीका कारण पर्वत, बागलुङ, म्याग्दी र मनाङमा प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानान्तरणमा सेनाले सहयोग गरेको थियो । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई माध्यमबाट सुरक्षित स्थानमा सारिएको थियो ।

    असोज २५ गते बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी १ हजार १०६ जनालाई हेलिकप्टर र स्थलमार्गबाट उद्धार गरिएको थियो । सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गर्नुका साथै डुबानमा परेका घरबाट सामान सुरक्षित रूपमा निकाल्न पनि सेनाले सहयोग गरेको थियो ।

    क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनमा सहयोग

    विपद्पछिको पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणमा पनि सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल पुनः सञ्चालन गर्न देवीघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवाको आवागमन सहज बनाउन सहयोग गरिएको थियो ।

    मनाङको चामेमा पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालन गर्न, अवरुद्ध विद्युत् प्रसारण लाइन पुनः सञ्चालनमा सहयोग गर्न तथा बगाएको पुलको स्थानमा अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गर्न सेनाले भूमिका खेलेको थियो ।

    त्यस्तै, बूढीगण्डकी बाढीबाट क्षतिग्रस्त आरुघाटस्थित पुलको स्थानमा बेलिब्रिज जडान गरी तत्काल सडक आवागमन सञ्चालनमा ल्याइएको थियो । सेनाले उक्त पुल सडक आयोजनालाई हस्तान्तरण गरेको जनाएको छ ।

    विभिन्न निकायबीचको समन्वयले प्रतिकार्य प्रभावकारी

    विपद् व्यवस्थापन कुनै एउटा निकायको प्रयासबाट मात्र सम्भव हुँदैन । पछिल्ला विपद्का घटनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्थानीय तह, गैरसरकारी संस्था तथा स्थानीय समुदायबीचको समन्वय र सहकार्यले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याएको सेनाको भनाइ छ ।

    भोटेकोशी बाढीका क्रममा त्रिशूलीको मैथिली क्याम्पमा विपद् प्रतिकार्य ट्याक्टिकल हेडक्वार्टर र रसुवाको धुन्चेमा फरवार्ड कमान्ड सेन्टर स्थापना गरिएको थियो । यसबाट घटनास्थलमा देखिएका समस्या तत्काल समाधान गर्न, निर्णय प्रक्रिया छिटो बनाउन र उपलब्ध जनशक्ति तथा स्रोतसाधन व्यवस्थित रूपमा परिचालन गर्न सहज भएको थियो ।

    नेपाली सेनाको नेतृत्वमा हरेक वर्ष सञ्चालन हुने संयुक्त विपद् प्रतिकार्य अभ्यासले पनि विभिन्न सुरक्षा तथा सरोकारवाला निकायबीचको समन्वयलाई बलियो बनाउँदै आएको छ । पूर्वतयारी, तालिम र अभ्यासबाट विपद्का बेला संयुक्त रूपमा काम गर्न आवश्यक कार्यगत एकरूपता कायम गर्न मद्दत पुग्ने सेनाको विश्वास छ ।

    प्रविधिको प्रयोग र बदलिँदो चुनौती

    प्रतिकूल मौसम, दुर्गम भूगोल र अवरुद्ध स्थलमार्गका बाबजुद सेनाले ड्रोनजस्ता प्रविधिको प्रयोग गरी आवश्यक सामग्री ढुवानी तथा उद्धार कार्यलाई सहज बनाएको छ । यसले विपद् प्रतिकार्यमा आधुनिक प्रविधिको उपयोग र बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउने सेनाको प्रयासलाई पनि देखाएको छ ।

    प्राकृतिक विपद् जोखिमका दृष्टिले नेपाल संवेदनशील मुलुक हो । जलवायु परिवर्तन, विश्वव्यापी तापक्रम वृद्धि, भौगोलिक बनावट र मौसमी प्रतिकूलताका कारण बाढी, पहिरो, डुबान, हिमपहिरो तथा भूकम्पजस्ता विपद्का घटना दोहोरिँदै आएका छन् ।

    प्राकृतिक विपद् रोक्न नसकिए पनि प्रभावकारी पूर्वतयारी, समयमै उद्धार, राहत वितरण, पुनःस्थापना र आपसी सहकार्यबाट क्षति न्यूनीकरण गर्न सकिन्छ । विपद्का कठिन घडीमा अग्रपङ्क्तिमा रहेर नागरिकको जीवन रक्षामा खटिने नेपाली सेनाको भूमिका सुरक्षा दायित्वसँगै मानवीय सेवा र राष्ट्रिय जिम्मेवारीसँग पनि जोडिएको छ ।

    सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार विपद् प्रभावित क्षेत्रमा सेनाले गर्दै आएका विभिन्न कार्यले राज्यको प्रतिकार्य क्षमतालाई सुदृढ बनाउन सहयोग पुर्‍याएको छ । पछिल्ला विपद्का घटनाले प्रभावकारी व्यवस्थापनका लागि सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र सामूहिक प्रयास अपरिहार्य रहेको सन्देश पुनः पुष्टि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images