काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रूपमा रहेको कुलेखानी जलाशय भरिन अब आठ सेन्टिमिटर मात्रै बाँकी छ । सोमबार बिहान १० बजेसम्म जलाशयमा पानीको सतह एक हजार ५२९ दशमलव ९२ मिटर पुगेको छ । जलाशयको अधिकतम क्षमता एक हजार ५३० मिटर हो ।
कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख प्रकाश राउतका अनुसार पानीको खपत नभए जलाशय २४ घण्टाभित्र भरिनेछ । तर, दसैँ, तिहार र छठ पर्व सकिएसँगै विद्युत्को माग बढ्ने भएकाले उत्पादन बढाएर जलाशयको पानीको सतह सन्तुलनमा राखिने उनले बताए ।
‘कुलेखानी जलाशय भरिन आठ सेन्टिमिटर मात्रै बाँकी छ । पानी खपत भएन भने यो भरिन २४ घण्टा लाग्छ,’ राउतले भने, ‘अब विद्युत्को माग बढ्ने भएकाले त्यहीअनुसार कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसबेला दैनिक ४० सेन्टिमिटरसम्म पानी खपत हुने गर्छ ।’
अहिले कुलेखानी जलविद्युत् आयोजनाका तीनवटै युनिट सञ्चालन नगर्दा पनि दैनिक चारदेखि पाँच सेन्टिमिटर पानी जलाशयमा थपिने गरेको छ । आइतबार बिहान १० बजे जलाशयको सतह एक हजार ५२९ दशमलव ८८ मिटर थियो । त्यसको २४ घण्टामा चार सेन्टिमिटर मात्रै पानी थपिएको हो ।
जलाशयको पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था नआउने आयोजना प्रमुख राउतको दाबी छ । ‘पानी भरिएर कुलेखानीको बाँध खोल्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘विद्युत् उत्पादन गरेर जलाशयको सतह सन्तुलनमा राख्नेछौँ ।’
सुक्खायाममा विद्युत्को माग उत्पादनभन्दा बढी हुने भएकाले त्यतिबेला माग व्यवस्थापन गर्न कुलेखानीका तीनवटै युनिट सञ्चालन गरिन्छ । यही समयको विद्युत् माग धान्न अहिले जलाशयमा पानी सञ्चित गरेर राख्ने गरिएको छ । तर, जलाशयको सतह अधिकतम क्षमतानजिक पुगेकाले अब मागअनुसार विद्युत् उत्पादन गर्दै पानीको सतह व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
जलाधार क्षेत्रमा अब वर्षा नहुने भएकाले जलाशय एक्कासि भरिएर बाँधका ढोका खोल्नुपर्ने अवस्था नआउने प्राधिकरणको भनाइ छ । गत असोजमा जलाधार क्षेत्रमा भारी वर्षा भएपछि जलाशय भरिएर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सचेत गराउन साइरनको व्यवस्था गरिएको थियो । सम्भावित जोखिमबारे जानकारी दिन पहिलोपटक साइरनसमेत बजाइएको थियो । तर, त्यसबेला बाँधका ढोका खोल्नुपर्ने अवस्था आएन ।
यसअघि २०८१ असोज १२ गते बिहान कुलेखानी जलाशय भरिएपछि बाँधका ढोका खोल्दा सिमखोलाको पुलसहित सिस्नेरीको सडक र ४९ वटा घर बगाएको थियो । उक्त घटनापछि जलाशयको सतह र बाँधबाट पानी छाड्नुपर्ने सम्भावित अवस्थालाई लिएर तटीय क्षेत्रका बासिन्दा थप सचेत रहँदै आएका छन् ।
गत भदौको दोस्रो सातादेखि कुलेखानी जलविद्युत् आयोजना पूर्ण रूपमा सञ्चालन गरिएको थियो । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले त्यस क्षेत्रका जलविद्युत् आयोजना क्षतिग्रस्त बनाएपछि कुलेखानीमा विद्युत् उत्पादनको चाप बढेको थियो । यही कारण जलाशयको पानी बढी खपत भएकाले अहिलेसम्म जलाशय नभरिएको आयोजना प्रमुख राउतको भनाइ छ ।
कुलेखानी जलविद्युत् आयोजनाका तीनवटा केन्द्रबाट कुल १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ । कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुन्छ । ती नवटै युनिट २४ घण्टा सञ्चालन गर्दा जलाशयको पानीको सतह दैनिक करिब ४० सेन्टिमिटर घट्ने गर्छ ।
स्रोतः कान्तिपुर






















