काठमाडौं– खेलाडीको राजनीतिमा चासो धेरै पुरानो हो । संसारमा धरै नाम चलेका धेरै खेलाडी यसअघि पनि राजनीतिमा प्रवेश नगरेका होइनन् । यसबीचमा जुडोका स्टार खेलाडी टेडी रिनर अप्रिल महिनामा हुने फ्रान्सेली राष्ट्रपति पदको निर्वाचनमा उम्मेदवार भएका छन् ।
ग्वाडेलोपमा जन्मिएका ३७ वर्षीय उनको अहिलेसम्म कुनै सार्वजनिक पदधारण गरेको अनुभव छैन । कुनै दल उनको पछि छैन । अहिलेसम्म कुनै घोषणापत्र पनि छैन ।
उनले ‘द फ्रान्स वी लभ भन्दै चुनावी मुद्दा बनाएका छन् । उत्तरी पेरिसको सेन्ट डेनिसमा रहेको अस्पतालमा निरीक्षण गर्दै उनको चुनावी अभियान सुरु भएको छ । राजनीतिमा नयाँ अनुभव भए पनि उनी फ्रान्सको लोकप्रिय व्यक्तिमध्ये एकको रूपमा रहेका छन् । ५ पटकका ओलम्पिक स्वर्ण पदक विजेता उनी ११ पटक विश्व च्याम्पियन पनि भइसकेका छन् । उनी आफैंले व्यवसाय सञ्चालन गरेका छन् । यसमा पनि उनी सफल छन् ।
उनले गरेको चुनावी कार्यक्रमलाई फेसबुक र एक्समा समेत गरी २ करोड ८० लाखले हेरेका छन् । यसमध्येका २८ प्रतिशतले उनलाई मत दिने कुरा बताइसकेका छन् । यसअघि खेलाडी सबैभन्दा माथिल्लो पदमा पुगेको लाइबेरिया हो । फिफा वर्ष खेलाडीसमेत घोषित भइसकेका सन् २००० को दशकका एसी मिलानका स्टार मिडफिल्डर जर्ज वे पछि लाइबेरियाको राष्ट्रपति भएका हुन् ।
अहिले रिनरको उम्मेदवारीलाई लिएर धेरैले गम्भीरतापूर्वक लिएको पाइएको छ । उनको व्यक्तिगत लोकप्रियता राजनीतिमा परिणत भए यसले अन्य दललाई पनि समस्या हुन सक्नेछ ।

अहिले फ्रान्समा अति दक्षिणपन्थी मारिन ला पेन र वामपन्थी लुक मेलेनचोनको चर्चा छ । मध्यमार्गी नेताको रूपमा रिनरको उदय हुने आङ्कलन पनि गरिएको छ । उनले देशलाई दायाँ र बायाँ हुन नदिएर एकत्रित गर्ने घोषणा पनि गरेका छन् । राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरिरहँदा पनि उनले आफू राजनीतिज्ञ नभएको दाबी गर्न छाडेनन् ।
उनले आममानिसलाई सम्बोधन गर्दै अहिले फ्रान्समा व्यवस्थामाथि नै सङ्कट आएको बताउँदै यसलाई ब्युँताउन पनि सबै जनाले आफूलाई साथ दिनुपर्ने बताए ।
उनले कतिपयले आफूलाई राष्ट्रपतिको पदको उम्मेदवार हुँ भन्ने मूर्खतापूर्ण निर्णय गरेको भन्दै आलोचना भएको विषयमा आफ्नो मत व्यक्त गरे । उनले फ्रान्समा अहिले राष्ट्रिय ऋण थपिएको एवम् हरेक अभिभावक बच्चाको भविष्यले चिन्तित भएको समयमा यो उम्मेदवारी आवश्यक भएको बताए ।
उनको विगत हेर्नेहरूलाई थाहा छ, उनी कहीँ पनि हल्का रूपले हात हाल्दैनन् । उनको यसै विशेषताले ओलम्पिक च्याम्पियन हुन् । तर पनि उनको पहिलो चासो के हुने भन्ने चाहिँ सबैलाई छ । फ्रान्समा अहिले समस्याको चाङ छ ।
पेन्सन रिफर्म, शिक्षामा लगानी, महँगी, राष्ट्रिय ऋण, लोकप्रियतावादको उदय तथा रुस र युक्रेनबीचको युद्ध अहिलेको मुख्य विषय हुन् । उनको कोर टिममा को रहने भन्ने पनि अनिश्चित नै छ ।
उनले आफूलाई बारम्बार अतिवादको विरुद्धमा प्रस्तुत गर्नुले मध्यमार्गी सोचको भएको प्रस्ट हुन्छ । अहिले आफूलाई मध्यमार्गी भएको बताउने धेरै उम्मेदवार छन् । यसमा समाजवादीले साथ दिएका राफेल ब्ल्याकसम्यानदेखि रिपब्लिकका ब्रुनो रेटेलेउसम्म छन् । गत फेब्रुअरीमा युरोपियन केन्द्रीय बैंकको प्रमुखको जिम्मेवारी त्यागेका क्रिस्चियन लागार्ड पनि यस भीडमा थपिएका छन् ।
मेलेनचोन भने रिनरले आफूलाई न दक्षिणपन्थी न वामपन्थी भएको बताउनुले वामपन्थीहरू उनको उम्मेदवारबाट प्रभावित हुन आवश्यक नरहेको बताउँछन् ।
फ्रान्सको राजनीतिमा खेलकर्मी

अन्य देशको तुलनामा फ्रान्समा खेलकर्मीको राजनीतिमा प्रभाव धेरै छ । राष्ट्रपतिमा पहिलो पटक यस किसिमको स्टार खेलाडी उम्मेदवार भए पनि यसअघि मन्त्री भने धेरै जना खेलकर्मी भइसकेका छन् । दुई पटकका ओलम्पिक च्याम्पियन जुडोका डेभिड डेलियट एवम् सन् १९७६ को मन्ट्रियल ओलम्पिकमा फेन्सिङमा पदक जित्ने जियान फ्रान्सिस ल्यामर र ११० मिटर हर्डल्सका च्याम्पियन गाय ड्रट खेल जीवनको अन्त्यपछि विधायक मात्र भएनन्, खेलकुदमन्त्री पनि भए ।
उनले उम्मेदवारी घोषणा गरे पनि उनका लागि पहिलो चरणमा नै केही समस्या देखिएको छ । उम्मेदवार हुन नै पहिलो चरणमा ५०० जना सरकारी अधिकारीको हस्ताक्षर आवश्यक हुन्छ । अहिले अति दक्षिणपन्थी मारिन ला पेन जनमतमा सबैभन्दा अघि रहेको अनुमान गरिएको छ ।
अहिले फ्रान्समा धेरै समस्या छ । फ्रान्समा जनजीवनमा समस्या छ । सडकमा हजारौँ भीड छ । भीडमा उपस्थित हुनेहरूको माग छ । यसकारण असन्तुष्टिको मत उनको पक्षमा जाने सम्भावना पनि छ । यसरी उनको पक्षमा माहौल खडा भएमा फ्रान्सले एउटा खेलाडीलाई राष्ट्र प्रमुखको रूपमा पाउने सम्भावना छैन भन्न सकिन्न ।
उनको उम्मेदवारीसँगै केही अन्य विषय पनि उब्जिएका छन् । खेल जीवनलाई पनि अघि बढाउने उनले बताएका छन् । राष्ट्रपतिमा उम्मेदवार घोषणा गर्नुअघि उनले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा सहभागिता जनाउने अपेक्षा गरिएको थियो ।
अहिले धेरै समीक्षकहरू एन्टी पपुलिस्ट मत एक स्थानमा आएमा ला पेनलाई हराउन सकिने बताउँछन् । अप्रिल महिनाको फ्रान्सको यो निर्वाचन संसारका लागि अझै हेर्न लायक छ । ला पेनले नै संसारमा चलेको अति दक्षिणपन्थी धारलाई निरन्तरता दिँदै फ्रान्समा जित हात पार्ने, मेलेनचोनले वामपन्थीलाई उकास्ने या रिनरले नयाँ इतिहास कायम गर्ने प्रतीक्षाको विषय बनेको छ ।
-एपी न्युज, बीबीसी, द गार्जियनलगायतको सहयोगमा


मनोज घिमिरे 




















