काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन गएको टोलीले सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह तथा संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य थप सुदृढ गर्ने अवसरका रूपमा लिएका छन् ।
भ्रमण टोलीमा रास्वपाका सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।





















