काठमाडौं – भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा पदमार्ग, प्रवेशद्वार, विश्रामस्थल तथा सुम्निमा–पारुहाङको सालिकलगायतका संरचना निर्माण भएपछि पर्यटकको आवागमन बढ्न थालेको हो ।
कपासे भञ्ज्याङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कले विभिन्न पूर्वाधार निर्माणका काम अघि बढाएको छ । वडाले मझुवा–कपासे भञ्ज्याङ पदमार्ग र विश्रामस्थल निर्माण गरेपछि पर्यटकलाई यस क्षेत्रमा पुग्न सहज भएको छ ।
दुई जिल्लाको सङ्गमस्थलका रूपमा रहेको कपासे भञ्ज्याङको विकासका लागि भोजपुर र खोटाङका स्थानीय तहबीच सहकार्यसमेत भइरहेको छ । यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित आवश्यक संरचना निर्माण र प्रवर्द्धनका काम अघि बढाइएको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङले बताए ।
उनका अनुसार खोटाङको खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा कपासे भञ्ज्याङको पर्यटन विकासका लागि काम भइरहेको छ । वडाको बजेटबाट प्रवेशद्वार र पदमार्ग निर्माण गरिएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको सम्भावनालाई उजागर गर्न स्थानीय सरकार सक्रिय रहेको बताए ।
“कपासे भञ्ज्याङ पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो। यसको विकासमा हामी जुटेका छौँ। वडाको बजेटबाट प्रवेशद्वार र पदमार्ग निर्माण गरेका छौँ । कपासे क्षेत्रलाई स्थापित पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य छ”, उनले भने ।
कपासे भञ्ज्याङलाई ग्रेटर मुन्दुम पदमार्गसँग जोड्ने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासका काम भइरहेको वडा कार्यालयले जनाएको छ। प्राकृतिक सौन्दर्य, भौगोलिक अवस्थिति र सांस्कृतिक महत्वलाई एकीकृत रूपमा पर्यटनसँग जोड्न सके यो क्षेत्र पूर्वी पहाडकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना छ ।
यस क्षेत्रमा आन्तरिक पर्यटकको आवागमन बढ्न थालेपछि स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव देखिन थालेको छ। पर्यटकको चहलपहलले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको स्थानीय बबिन्द्र राईले बताए ।
“पर्यटक लक्षित संरचना निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुगेको छ। दुई जिल्लाका स्थानीय सरकारले यहाँको विकासका लागि आवश्यक काम गरिरहेका छन् । घुम्न आउने मानिसको सङ्ख्या बढेको छ। यसले स्थानीय कृषि उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ”, उनले भने ।
स्थानीयका अनुसार कपासे भञ्ज्याङको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई व्यवस्थित रूपमा प्रचारप्रसार गर्न सके पर्यटनबाट स्थानीयले थप लाभ लिन सक्छन् । पर्यटकको आवागमन बढेसँगै कृषि उत्पादनको बिक्री, स्थानीय रोजगारी र साना व्यवसाय विस्तारको सम्भावनासमेत बढ्ने देखिएको छ ।
कपासे भञ्ज्याङको पर्यटन विकासलाई थप गति दिन पदमार्ग र अन्य पूर्वाधारको स्तरोन्नति, प्रभावकारी प्रचारप्रसार तथा स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । दुई जिल्लाका स्थानीय तहबीचको सहकार्यलाई निरन्तरता दिन सके कपासे भञ्ज्याङलाई मुन्दुम पदमार्गसँग जोडिएको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।





















