images
images
  • बजारमा माग बढेपछि थारू आलुखेती विस्तार गर्दै

    काठमाडौं – स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने थारू आलुखेती विस्तार गर्न थालेका छन् । उपभोक्ताको बढ्दो माग र स्थानीय तहले बीउमा अनुदान दिन थालेपछि कुनै समय लोप हुने अवस्थामा पुगेको यो परम्परागत बाली पुनः व्यावसायिक खेतीतर्फ उन्मुख भएको हो ।

    बढैयाताल गाउँपालिका–६ मैनापोखरका किसान हाकिम थारूले गत वर्ष गाउँपालिकाबाट अनुदानमा पाएको बीउ लगाएर राम्रो उत्पादन भएपछि यस वर्ष खेती विस्तार गर्नुभएको छ। गत वर्ष एक कट्ठा जमिनमा चार क्विन्टल आलु उत्पादन भएको र बजारमा समेत राम्रो मूल्य पाएपछि यस वर्ष दुई कट्ठामा खेती गर्न लागेको उनले बताए ।

    “स्थानीय थारू आलुको स्वाद राम्रो छ । उत्पादन पनि राम्रो भएपछि यस वर्ष खेती विस्तार गरेको हुँ”, उनले भने ।

    सोही गाउँका किसान परशुराम थारूले पनि थारू आलुखेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उनले गत वर्ष दुई कट्ठा जमिनमा खेती गरेर सात क्विन्टल आलु उत्पादन गर्नुभएको थियो। उत्पादित आलुमध्ये चार क्विन्टल बिक्री गरेर २० हजार रुपैयाँ आम्दानी गरेको उनले जानकारी दिए ।

    थारू आलुको बजार राम्रो रहेको र ग्राहक आफैँ आलु किन्न घरसम्म आउने गरेको उनको अनुभव छ । बजारको माग र राम्रो मूल्यका कारण यस वर्ष पनि खेतीलाई निरन्तरता दिएको उनले बताए ।

    “थारू आलुको बजार राम्रो छ। आलु किन्न ग्राहक घरमै आउने गरेका छन् । त्यसैले यसको खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भने ।

    उपभोक्ताको रोजाइमा रैथाने आलु

    थारू आलुको माग किसानमाझ मात्र नभई उपभोक्तामाझ पनि बढ्दै गएको छ । बर्दियाको राजापुर नगरपालिका–८ घर भई नेपालगन्ज बस्दै आउनुभएकी सपना भट्टराई बजारमा उपलब्ध भएसम्म थारू आलु नै किन्ने गरेको बताए ।

    स्वादिलो हुनुका साथै लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले सिजनमै किनेर वर्षभरि पुग्ने गरी राख्ने गरेको उहाँको भनाइ छ । अन्य प्रजातिका आलुको तुलनामा यसको स्वाद र भण्डारण क्षमता फरक भएकाले उपभोक्ताको आकर्षण बढेको देखिन्छ ।

    एक दशकअघि लोप हुने अवस्थामा पुगेको थारू आलुले पछिल्लो समय बजारमा पुनः स्थान बनाउन थालेको छ । बर्दियामा उत्पादित आलुको माग स्थानीय बजारमा मात्र सीमित छैन। नेपालगन्ज, कोहलपुर, काठमाडौं र पोखरासम्म यसको माग पुग्ने गरेको राजापुरका किसान जगत चौधरीले बताए ।

    अनुदानले खेती विस्तारमा सहयोग

    थारू आलुको संरक्षण र व्यावसायिक खेती प्रवर्द्धनका लागि जिल्लाका विभिन्न स्थानीय तहले अनुदानमा बीउ वितरण गर्न थालेका छन् । बढैयाताल गाउँपालिकामा मात्रै पाँच हेक्टर क्षेत्रफलमा थारू आलुखेती हुँदै आएको छ ।

    गाउँपालिकाका कृषि प्रसार अधिकृत शरण चौधरीका अनुसार गाउँपालिकाका विभिन्न वडामा कुल ३० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएकामा पाँच हेक्टरमा थारू आलु उत्पादन भइरहेको छ ।

    गत वर्ष गाउँपालिकाले आलुखेती विस्तार गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा १६ क्विन्टल बीउ वितरण गरेको थियो। चालु आर्थिक वर्षमा पनि आलुखेती विस्तारका लागि चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। किसानको मागअनुसार उक्त बजेट थारू आलुखेती प्रवर्द्धनमा खर्च गर्न सकिने उनले जानकारी दिनुभयो।

    एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका कृषि प्राविधिक अधिकृत फिर्तुमान चौधरीका अनुसार थारू आलु जिल्लाका आठवटै स्थानीय तहमा खेती हुने रैथाने बाली हो। यसको उत्पादन क्षेत्रफलको यकिन तथ्याङ्क नभए पनि बारबर्दिया, राजापुर र ठाकुरबाबा नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा खेती बढी हुने गरेको छ ।

    रैथाने बाली संरक्षणका लागि प्रदेश सरकारले चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । थारू आलु पनि रैथाने बालीअन्तर्गत पर्ने भएकाले उक्त बजेट यसको संरक्षण र प्रवर्द्धनमा खर्च गर्न सकिने कृषि प्राविधिक चौधरीले बताए ।

    शीतभण्डारबिनै वर्षभरि राख्न सकिने

    थारू समुदायमा पुस्तौँदेखि खेती हुँदै आएको थारू आलुको विशेषता यसको स्वाद र भण्डारण क्षमता हो । अन्य प्रजातिका आलुजस्तो शीतभण्डारमा राख्नुपर्ने बाध्यता नरहेको कृषि प्राविधिक चौधरी बताउछन् ।

    उनका अनुसार प्रकाश नपर्ने ओसिलो ठाउँमा सुरक्षित राख्न सके वर्षभरि नै आलु भण्डारण गर्न सकिन्छ। उत्पादनका हिसाबले अन्य प्रजातिको तुलनामा केही कम भए पनि बजारमा राम्रो मूल्य पाइने भएकाले किसानका लागि यो आर्थिक रूपमा लाभदायक बाली बन्न सक्ने उहाँको भनाइ छ ।

    किसानका अनुसार थारू आलु प्रतिकिलो ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । स्वादिलो र लामो समयसम्म राख्न सकिने भएकाले उपभोक्ताले पनि यसलाई प्राथमिकता दिने गरेका छन् ।

    प्रचारप्रसार र बजारीकरणमा चुनौती

    बजारमा माग बढ्दै गए पनि पर्याप्त प्रचारप्रसार, व्यवस्थित बजारीकरण र व्यावसायिक उत्पादनको अभावमा थारू आलुले अपेक्षित बजार विस्तार गर्न सकेको छैन । किसानले परम्परागत रूपमा उत्पादन गर्दै आए पनि यसको पहिचान र बजार व्यवस्थापनमा पर्याप्त ध्यान पुग्न नसकेको किसानको गुनासो छ ।

    किसान अगुवा जगत चौधरीले थारू आलुको संरक्षणसँगै व्यावसायिक खेती विस्तार र बजारीकरणका लागि स्थानीय तथा प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

    रैथाने बालीको संरक्षण, किसानको आम्दानी वृद्धि र स्थानीय उत्पादनको पहिचान स्थापित गर्ने दृष्टिले थारू आलुखेतीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । उत्पादनको गुणस्तर कायम राख्दै बीउ संरक्षण, खेती विस्तार, संकलन केन्द्र र बजार व्यवस्थापन गर्न सके थारू आलु बर्दियाको पहिचानसँगै किसानको आम्दानीको भरपर्दो स्रोत बन्न सक्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images