काठमाडौं – महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमै दुई पक्षबीच कुटाकुट भएपछि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिकाका विभिन्न वडाका ६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार झैझगडाको विषयमा छलफल गर्न वडा प्रहरी कार्यालय पुगेका दुई पक्षबीच कार्यालय परिसरमै पुनः विवाद भएपछि कुटाकुट भएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा भीमदत्त नगरपालिका–५ का पाँच जना र वडा नम्बर १७ का एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार र २६ वर्षीय रोहित लुहार छन् । यस्तै, भीमदत्त नगरपालिका–१७ का २५ वर्षीय विशाल कोली पनि पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय परिसरमै दुई पक्षबीच कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। भिडियोमा प्रहरी कार्यालय परिसरमै विवाद र हातपात भएको देखिन्छ ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गर्दै विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।





















