काठमाडौं – गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई २५ हजार रुपैयाँ राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले पत्रकारिता तथा साहित्य क्षेत्रमा रिजालले पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानका कार्यसमिति सदस्य इन्जिनियर अर्जुनकुमार श्रेष्ठले आफ्ना बुबाको स्मृतिमा स्थापना गरेको यो पुरस्कार यस वर्ष रिजाललाई दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष डा। सदानन्द कँडेलले जानकारी दिए ।
राष्ट्रिय समाचार समिति ९रासस० का प्रधानसम्पादक उत्तम सिल्वालको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको निर्णयका आधारमा रिजाललाई सम्मानका लागि छनोट गरिएको हो ।
वि।सं। २०१५ मा धादिङको गंगाजमुना गाउँपालिका–४, गुम्दीमा पण्डित होमनाथ रिजाल र जीवमायाका सुपुत्रका रूपमा जन्मिएका रिजाल चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनले गोरखापत्र संस्थानमा मात्रै ३० वर्ष काम गरेका थिए । उनका हालसम्म २४ वटा कृति प्रकाशित छन् ।
साहित्य र पत्रकारितामा विशेष रुचि राख्ने रिजालले गोरखापत्रसहित कान्तिपुर, नागरिक र अन्नपूर्ण दैनिक तथा लोकान्तर डटकम र रातोपाटी डटकमलगायत सञ्चारमाध्यममा लेखरचना प्रकाशित गर्दै आएका छन् । उनले विशेषगरी दार्शनिक, आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक विषयमा लेख्दै कुरीति र कुसंस्कारविरुद्ध आवाज उठाउँदै आएका छन् ।
ठाकुरप्रसाद शर्मा प्रतिष्ठान धादिङ जिल्लाको पहिलो माध्यमिक विद्यालय आदर्श मावि, गजुरीका संस्थापक प्रधानाध्यापक एवं पूर्वजलस्रोत राज्यमन्त्री ठाकुरप्रसाद शर्माले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई सम्मान र स्मरण गर्ने उद्देश्यले स्थापना गरिएको हो । विद्यालयका पूर्वविद्यार्थीको सक्रियतामा डा. कँडेलको अध्यक्षतामा २०८१ सालमा प्रतिष्ठान स्थापना भएको थियो ।
प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा शिक्षा, पत्रकारिता र समाजसेवाका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यसैक्रममा आगामी मंसिर ४ गते शुक्रबार गजुरीस्थित आदर्श माविमा विशेष कार्यक्रम आयोजना गरी रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रममा आदर्श शिक्षासेवी पुरस्कारबाट माणिकलाल श्रेष्ठलाई सम्मान गरिनेछ । त्यस्तै, गायक तथा ‘भ्वाइस अफ नेपाल’ सिजन–६ का विजेता प्रोशेश पाण्डेलाई युवा प्रतिभा पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा आदर्श शिक्षक तथा एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पनि सम्मान तथा पुरस्कृत गरिनेछ ।
वि.सं. २०२५ मा स्थापना भएको आदर्श माविले सोही वर्षदेखि प्रवेशिका परीक्षामा विद्यार्थी सहभागी गराउन थालेको थियो । विद्यालयबाट हालसम्म करिब तीन हजार विद्यार्थीले विद्यालय शिक्षा पूरा गरेका छन् ।
प्रतिष्ठानका अनुसार यस विद्यालयका पूर्वविद्यार्थी मन्त्रिपरिषद् सदस्य, सरकारी सचिव, उच्चपदस्थ राष्ट्रसेवक कर्मचारी, सभासद्, प्राध्यापक, चिकित्सक, इन्जिनियर तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका नेतृत्व तहमा पुगेर देश र समाजको सेवामा सक्रिय छन् । त्यस्तै, कानुन व्यवसाय, शिक्षण, उद्योग–व्यवसाय, राजनीति, कला, पत्रकारिता र समाजसेवाका क्षेत्रमा पनि विद्यालयका पूर्वविद्यार्थी क्रियाशील छन् ।





















