काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा खोटाङमा सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गर्दा ११ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । साउन, भदौ र असोज महिनामा एक हजार ४४ वटा सवारी साधनलाई कारबाही गर्दा उक्त रकम संकलन भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार सबैभन्दा बढी राजस्व जिप तथा कारलाई कारबाही गर्दा संकलन भएको छ । जिप तथा कारबाट चार लाख ९३ हजार ५०० रुपैयाँ राजस्व उठेको छ ।
त्यस्तै, मोटरसाइकलबाट चार लाख २१ हजार ५००, ट्रकबाट एक लाख तीन हजार ५००, बसबाट ६४ हजार, ट्र्याक्टरबाट ३४ हजार ५००, टेम्पोबाट २४ हजार ५०० र अन्य सवारी साधनबाट तीन हजार ५०० रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
तीन महिनाको अवधिमा सबैभन्दा धेरै जिप तथा कार कारबाहीमा परेका छन् । यस अवधिमा ४३० जिप तथा कार, ४०२ मोटरसाइकल, ९३ ट्रक, ५२ बस, ३५ ट्र्याक्टर, २८ टेम्पो र चारवटा अन्य सवारी साधनलाई कारबाही गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८२/८३ मा भने खोटाङमा दुई हजार १२५ वटा सवारी साधनलाई कारबाही गर्दा २२ लाख ४८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षभर संकलन भएको राजस्वको आधाभन्दा बढी रकम चालु आर्थिक वर्षको पहिलो तीन महिनामै उठेको देखिन्छ ।
प्रहरीका अनुसार सवारी नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाहीलाई निरन्तरता दिइएको छ ।






















