images
images
  • कोषको लागत घट्दा र व्यवसाय विस्तार हुँदा कुमारीको घाटाबाट नाफामा फर्कियो वितरणयोग्य आम्दानी

    काठमाडौं । कोषको लागतमा आएको उल्लेख्य गिरावट र व्यवसाय विस्तारमा आएको फराकिलो वृद्धिका कारण कुमारी बैंक लिमिटेडको वित्तीय कार्यसम्पादनमा उच्च सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा बैंकको सञ्चालन नाफा ३२.३९ प्रतिशतले बढेर १.८८ अर्ब रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्ष ३.९१ अर्ब रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा यस अवधिमा चौतर्फी सुधार भई १४.७१ करोड रुपैयाँ धनात्मक बनेको छ ।

    सञ्चालन नाफा र वितरणयोग्य नाफामा भएको यस लोभलाग्दो सुधारको प्रमुख कारण बैंकको कोषको लागत र आधार दरमा आएको फराकिलो गिरावट हो। समीक्षा अवधिमा बैंकको फण्डको लागत २०.०५ प्रतिशतले घटेर ३.४३ प्रतिशत (गत वर्ष: ४.२९%) मा झरेको छ भने आधार दर १७.५३ प्रतिशतले घटेर ४.८० प्रतिशत (गत वर्ष: ५.८२%) कायम भएको छ ।

    कोषको लागत सस्तो बन्दै जाँदा बैंकले आफ्नो निक्षेप संकलन तथा ब्यालेन्स शीट विस्तारलाई तीव्रता दिएको छ, जसका कारण समीक्षा अवधिमा कुल निक्षेप १८.८५ प्रतिशतले बढेर ४.२८ खर्ब रुपैयाँ र कुल कर्जा प्रवाह ८.७९ प्रतिशतले बढेर २.९३ खर्ब रुपैयाँ पुगेको छ ।

    व्यवसायको आकार विस्तार भएसँगै कुमारी बैंकको कुल सम्पत्ति १८.१५ प्रतिशतले बढेर ५.२२ खर्ब रुपैयाँ कायम भएको छ । बैंकको जगेडा तथा सरप्लस कोष ५९.९३ प्रतिशतको उच्च दरले वृद्धि भई १८.९६ अर्ब रुपैयाँ पुगेको छ । सरप्लस र रिजर्भ कोषमा भएको मजबुत वृद्धिका कारण बैंकको कुल इक्विटी १८.६६ प्रतिशतले बढेर ४५.१८ अर्ब रुपैयाँ पुगेको छ, जसले प्रतिशेयर नेटवर्थलाई १४५.२१ रुपैयाँबाट उकासेर १७२.३१ रुपैयाँ पुर्‍याएको छ ।

    त्यसैगरी, बैंकको खुद नाफा १.७० प्रतिशतले वृद्धि भई १.०७ अर्ब रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी बढेर १६.३९ रुपैयाँ कायम भएको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३.९० प्रतिशतले बढेर ८८.२३ करोड रुपैयाँ पुगेकाले गैर-ब्याजी आम्दानीको पक्षमा पनि राम्रो सहयोग मिलेको छ ।

    घट्दो कोषको लागत, निक्षेपमा आएको उच्च वृद्धि र जगेडा कोषमा भएको सुधारका कारण कुमारी बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासमै लगानीकर्ताहरूलाई पुनः प्रतिफल बाँड्न सक्ने सुदृढ वित्तीय अवस्थामा फर्किएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images