काठमाडौंः जेटीयूसीसीले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा गरेको छ । श्रमीकहरुको कामको सम्मान र सामाजिक सुरक्षाको कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा गरेको छ ।
आईतवार पत्रकार सम्मेलन मार्फत् जेटीयूसीसीले श्रमीकहरुको कामको सम्मान र सामाजिक सुरक्षाको कार्यान्वयनको लागि नयाँ स्वरुपको आन्दोलन शुरु गर्ने घोषणा गरेको हो । जेटीयूसीसीले हालै सर्वोच्च अदालतको तर्फबाट योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयन सम्बन्धमा जारी भएको अन्तरिम आदेशले आश्चर्यचकित बनाएको भन्दै यसले देशका लाखौँ श्रमीकहरुमा दीर्घकालीन प्रभाव पर्ने निश्चित रहेकोले सो आदेशलाई पूर्ण इजलासबाट श्रमीक मैत्री र कानून सम्मत न्याय निरुपण हुन्छ भन्नेमा आफू विश्वस्त रहेको बताएको छ ।
आउँदो भाद्र १ गते प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर र भाद्र ४ गते सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई भेटेर जेटीयूसीसीले यस सम्बन्धी ज्ञापन पत्र पेश गर्ने निर्णय गरेको जेटीयूसीसीका महासचिव इन्द्रदेव मिश्रले बताउनुभयो । उहाँले ज्ञापन पत्रसहित श्रम रोजगार तथा सामाजिक मन्त्रालय र अर्थमन्त्रालयमा छलफल गर्ने साथै भाद्र ४ गते सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएका र सूचिकरण भएर पनि योगदान रकम जम्मा नगरेका ठूला प्रतिष्ठानको अगाडि विरोद्द प्रदर्शन गरिने बताउनुभयो ।
जेटीयूसीसीले भदौ ५ गते सबै प्रदेशमा एकैपटक नारा जुलुस गर्ने पनि निर्णय गरेको महासचिव मिश्रले बताउनुभयो ।

























