images
images
  • कृषि फार्मका लागि अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

    काठमाडौं – कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको र सहजै सरकारी अनुदान उपलब्ध गराइदिन सक्ने भन्दै उनीहरूले पीडितलाई विश्वासमा पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौं महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई पक्राउ गरेको हो । महर्जन तिलक बुढाथोकी नामबाट समेत चिनिने प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उनीहरूले कृषि फार्मका लागि सरकारले उपलब्ध गराउने सहुलियत अनुदान मिलाइदिने आश्वासन दिएका थिए । सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग आफ्नो राम्रो चिनजान रहेको र त्यसकै आधारमा अनुदान सहजै उपलब्ध गराउन सक्ने भन्दै उनीहरूले पीडितलाई प्रलोभनमा पारेका थिए ।

    सरकारी अनुदान प्राप्त हुने विश्वासमा परेका पीडितबाट उनीहरूले विभिन्न बहानामा रकम लिएको र कुल ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।

    पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको छ । उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

    सरकारी अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउने नाममा सरकारी कर्मचारीसँग पहुँच रहेको दाबी गर्दै सर्वसाधारणलाई रकम दिन लगाउने प्रवृत्तिले अनुदान प्रक्रियामा हुने सम्भावित बिचौलिया गतिविधि र ठगीको जोखिमसमेत उजागर गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images