काठमाडौं – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिमाली क्षेत्रमा देखिएपछि कञ्चनजङ्घा भ्रमणमा निस्किएका करिब २५० आन्तरिक तथा विदेशी पर्यटक बीचबाटोमै रोकिएका छन् । उच्च क्षेत्रमा हिमपात र तल्लो भेगमा वर्षासँगै चिसो बढेपछि बेसक्याम्पतर्फ गइरहेका र फर्किंदै गरेका पर्यटक गन्तव्यसम्म पुग्न नसकेका हुन् ।
मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रका विभिन्न बस्तीमा रहेका होटलहरू पर्यटकले भरिएका छन् । उत्तरी र दक्षिणी आधार शिविरतर्फ जाने पदमार्गका होटल तथा बस्तीमा पर्यटक रोकिएका छन् । घुन्सा, ओलाङचुङगोला र याम्फुदिन क्षेत्रमा पर्यटकको चाप बढी देखिएको छ ।
कञ्चनजङ्घा आधार शिविरतर्फ भ्रमणमा रहेका फोटो पत्रकार राजीव लिम्बूका अनुसार घुन्सा क्षेत्रका सबै होटल आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् । उनको टोलीसमेत मौसममा सुधार नआएपछि दुई दिनदेखि घुन्सामै रोकिएको छ ।
त्यस्तै, पदमार्गमा पर्ने फलेका होटलहरूमा पनि पर्यटकको चाप बढेको पाँचथरका पत्रकार गिरिराज बाँस्कोटाले जानकारी दिए । त्यस क्षेत्रमा निरन्तर सिमसिम पानी परिरहेको र उच्च पहाडी डाँडाहरूमा हिमपात भइरहेको उनले बताए ।
कञ्चनजङ्घाको उत्तरी आधार शिविर जाने पदमार्गका इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकलगायतका बस्तीमा पर्यटक रोकिएका छन् । दक्षिणी आधार शिविरतर्फ जाने याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जेल क्षेत्रका होटलहरूमा पनि पर्यटकको चाप बढेको छ ।
यसैगरी, लुम्बासुम्बा हुँदै मकालु आधार शिविरतर्फ जाने विदेशी पर्यटकको टोली ताप्लेजुङको ओलाङचुङगोलामै रोकिएको छ । फक्ताङलुङ गाउँपालिका–७ स्थित ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बालगायत क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि पुगेको सराफ फाउन्डेसनको टोलीसँगै रहेका पर्यटन अभियन्ता हेमराज निरौलाका अनुसार ओलाङचुङगोलामा करिब ६० जना स्वदेशी तथा विदेशी पर्यटक छन् ।
तीमध्ये आधाजसो पर्यटक लुम्बासुम्बा हुँदै मकालु आधार शिविर जाने योजनामा थिए । ओलाङचुङगोला हुँदै सिङ्जेसम्म पुग्ने उद्देश्यले गएका आन्तरिक पर्यटकसमेत मौसम प्रतिकूल भएपछि त्यहीँ बस्न बाध्य भएका छन् ।
मौसममा सुधार नआएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले सूचना जारी गरेका छन् । पर्यटकलाई सुरक्षित स्थानमा बस्न र मौसम अनुकूल भएपछि मात्रै यात्रा अघि बढाउन आग्रह गरिएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रतिकूल मौसमका कारण जिल्लामा हालसम्म कुनै विपद्जन्य घटना नभएको जानकारी दिनुभयो। उनका अनुसार कञ्चनजङ्घा क्षेत्रमा करिब २५० आन्तरिक तथा विदेशी पर्यटक रहेका छन् । उनीहरू विभिन्न बस्ती र होटलमा सुरक्षित रूपमा बसिरहेका छन् ।
पर्यटक तथा स्थानीय बासिन्दालाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न सचेत गराइएको र सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक सतर्कता अपनाइएको प्रजिअ दाहालले बताए ।
बिहीबार दिनभर ताप्लेजुङको आकाश धुम्मिएको थियो। बुधबार रातिदेखि वर्षा भइरहेको जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । मौसम प्रतिकूल भइरहँदा कञ्चनजङ्घा र मकालु क्षेत्रका पदयात्रा तथा पर्यटन गतिविधि प्रभावित भएका छन् ।





















