images
images
  • शेख हसिना देश छाड्दै गरेको भिडियो खिच्ने पूर्ववायुसेना अधिकृत मृत फेला

    काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना देश छाडेर जाँदै गरेको भिडियो सार्वजनिक भएपछि चर्चामा आएका पूर्ववायुसेना अधिकृत केएम तौसिफ सौरी मृत फेला परेका छन् । २८ वर्षीय सौरीको शव बिहीबार ढाकास्थित तुराग नदीमा फेला परेको हो । उनको मृत्यु शंकास्पद देखिएपछि घटनाले बंगलादेशमा नयाँ बहस सिर्जना गरेको छ ।

    बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’का अनुसार अक्टोबर २७ देखि बेपत्ता रहेका सौरीको शव राजाबारी घाट नजिक फेला परेको थियो । सुरुमा प्रहरीले शवको पहिचान गर्न सकेको थिएन । उनको खल्तीमा भेटिएको आइफोनका आधारमा पहिचान खुलेको थियो । शवसँगै एउटा हातघडी पनि फेला परेको प्रहरीले जनाएको छ ।

    शवलाई पोस्टमार्टमका लागि ढाकास्थित सहिद सुहरावर्दी मेडिकल कलेज अस्पताल पठाइएको छ । अधिकारीहरूले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने बताएका छन् । उनको मृत्यु डुबेर भएको हो, आत्महत्या हो वा हत्या भन्ने विषयमा प्रहरीले अहिलेसम्म निष्कर्ष निकालेको छैन ।

    सौरीको मृत्युपछि उनको परिवारले भने हत्या भएको आशंका व्यक्त गरेको छ । उनकी भदैनी मोशफेले सामाजिक सञ्जाल फेसबुकमार्फत हसिना देश छाड्दै गरेको भिडियोसँग जोडेर उनको मृत्युबारे प्रश्न उठाएकी छन् । उनले आफ्नो भाइको हत्या गरिएको दाबी गर्दै हसिना भाग्दै गरेको भिडियो सार्वजनिक गर्नु नै उनको अपराध थियो कि भन्दै प्रश्न गरेकी छन् ।

    परिवारका अनुसार उक्त भिडियो सौरी आफैँले खिचेका नभई उनका एक सहकर्मीले खिचेका थिए । तर भिडियो सार्वजनिक भएपछि सौरीलाई मानसिक रूपमा दुःख दिने र निगरानी गर्ने गरिएको परिवारको आरोप छ । वायुसेनाबाट अवकाश पाएपछि पनि उनलाई सताउने क्रम नरोकिएको उनीहरूको दाबी छ ।

    सौरीका एक नातेदारले मृत्यु हुनुअघि उनलाई घरबाट बाहिर बोलाइएको बताएका छन्। उनका अनुसार सौरीको स्वास्थ्य अवस्था सामान्य थियो । परिवारले वायुसेनाबाट बहिर्गमन हुनुअघि र त्यसपछि पनि उनीमाथि दुर्व्यवहार भएको आरोप लगाएको छ ।

    यस घटनासँगै सौरीलाई बंगलादेशी वायुसेनाबाट किन हटाइएको थियो भन्ने प्रश्नसमेत उठेको छ । बंगलादेशी सञ्चारमाध्यम ‘जागो न्युज’का अनुसार अन्तरसेवा जनसम्पर्क निर्देशनालयले सन् २०२५ अगस्ट ४ मा उनको सेवाबाट बहिर्गमनबारे विज्ञप्ति जारी गरेको थियो । उक्त विज्ञप्तिमा उनलाई प्रचलित नियमअनुसार सेवाबाट अवकाश दिइएको र उनीमाथि कुनै आरोप नलगाइएको उल्लेख थियो ।

    यद्यपि, केही सञ्चारमाध्यमका समाचार र सामाजिक सञ्जालमा भएका चर्चाले उनको बहिर्गमनलाई हसिनाले देश छाडेको घटनाको भिडियोसँग जोड्दै आएका छन् । तर भिडियो प्रकरणकै कारण उनलाई सेवाबाट हटाइएको वा त्यसैसँग सम्बन्धित भएर उनको हत्या भएको भन्ने विषयमा आधिकारिक पुष्टि भएको छैन ।

    उत्तरा प्रहरी चौकीका अधिकारी शाहिनुर जमानका अनुसार बिहीबारसम्म सौरीको मृत्युका सम्बन्धमा प्रहरीमा कुनै उजुरी दर्ता भएको थिएन। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।

    हालसम्म सौरीको हत्या भएको पुष्टि भएको छैन । पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्रै उनको मृत्युको कारण तथा हसिना देश छाड्दै गरेको भिडियोसँग कुनै सम्बन्ध रहे–नरहेको स्पष्ट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images