images
images
  • सुनकोसीमा सुमो खस्दा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला

    काठमाडौं – काठमाडौंबाट यात्रु लिएर खोटाङ आउँदै गरेको सुमो सुनकोसीमा खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । दुर्घटनामा बेपत्ता भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३० वर्षीय हरि पुर्कुटी र २२ वर्षीया अप्सरा राईको शव फेला परेको हो ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार पुर्कुटीको शव आइतबार उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित सुनकोसी नदीमा फेला परेको थियो। राईको शव भने सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोसी नदीमा फेला परेको हो ।

    सनाखतपछि दुवै जनाको शव परिवारले बुझेका छन् । मृतकका परिवारले शव जिल्ला अस्पताल खोटाङमा ल्याएर परीक्षण गर्ने तयारी गरेका छन् ।

    कात्तिक १ गते राति काठमाडौँबाट चालकसहित १० जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोसी नदीमा खसेको थियो । सडकबाट करिब २०० मिटर तल नदीमा खसेको सुमो दुर्घटनामा तीन जना बेपत्ता भएका थिए ।

    दुर्घटनामा पुर्कुटी र राईसँगै लफ्याङकै २६ वर्षीय रोशनकुमार मग्राती बेपत्ता भएका थिए । मग्रातीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    दसैँ मनाउन घर फर्किएका यात्रु सवार सुमो दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। दुर्घटनाको कारण र बेपत्ता व्यक्तिको खोजीसम्बन्धी थप विवरण प्रहरीले संकलन गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images