images
images
  • इटहरीमा नेपथ्यको ऐतिहासिक प्रस्तुति, एउटै लयमा झुमे १० हजार दर्शक

    काठमाडौं – मौसम चिसिँदै थियो, तर इटहरी रंगशालाभित्रको माहोल भने तातिरहेको थियो । साँझ ढल्दै जाँदा रंगशालातर्फ ओइरिएको भीडले विशेष सांगीतिक साँझको संकेत गरिरहेको थियो। कसैको हातमा टिकट थियो, कसैको मनमा वर्षौंदेखि सुन्दै आएको प्रिय ब्यान्डलाई प्रत्यक्ष हेर्ने उत्सुकता । हजारौँ दर्शकको प्रतीक्षा एउटै थियो– नेपथ्य र अमृत गुरुङ ।

    जब मञ्चमा नेपथ्य उक्लियो, चिसो सिरेटोबीच एकाएक उत्साहको लहर दौडियो । ताली, हुटिङ र दर्शकको सामूहिक स्वरले इटहरी रंगशाला गुञ्जायमान बन्यो। रंगीन प्रकाश, धुवाँका मुस्लो र आकाशतिर सोझिएका प्रकाशपुञ्जले वातावरणलाई थप रोमाञ्चक बनाइरहेका थिए । हजारौँ मोबाइलका बत्ती एकैसाथ बल्दा रंगशाला तारामय आकाशझैँ देखिन्थ्यो ।

    बालकदेखि वृद्धसम्म, किशोरकिशोरीदेखि युवायुवतीसम्म सबै आ–आफ्नै धुनमा रमाइरहेका थिए। कोही गीतसँगै स्वर मिलाइरहेका थिए, कोही हात उठाएर नाचिरहेका थिए त कोही मोबाइलमा त्यो क्षण कैद गर्न व्यस्त थिए।

    नेपाली संगीतको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको प्रत्यक्ष प्रस्तुतिमा बुधबार साँझ करिब १० हजार दर्शक झुमेका थिए । इटहरी रंगशालामा आयोजित ‘नेपथ्य लाइभ इन कन्सर्ट–२०२६’ मनोरञ्जनको एउटा साँझ मात्रै बनेन, पूर्वी नेपालमा नेपाली संगीतप्रतिको आकर्षण र सामूहिक उत्साहको अभिव्यक्तिसमेत बन्यो ।

    टिकट सकिए पनि रोकिएन संगीतप्रतिको मोह

    आयोजक पूर्वाञ्चल इभेन्ट्स प्रालिका अनुसार कन्सर्टका लागि ८ हजार ५०० टिकट बिक्री भएको थियो भने थप १ हजार ५०० पास वितरण गरिएको थियो । टिकट र पासमार्फत करिब १० हजार दर्शकले नेपथ्यको प्रस्तुति प्रत्यक्ष हेरेका थिए ।

    टिकट बिक्री भइसकेपछि पनि कन्सर्ट हेर्ने आशामा रंगशाला पुगेका कतिपय दर्शक निराश हुँदै फर्किनुपरेको थियो। भित्र भने दर्शकको उपस्थितिले मैदान भरिएको थियो । यसले नेपथ्यप्रतिको लोकप्रियतासँगै पूर्वी नेपालमा ठूला सांगीतिक कार्यक्रमप्रतिको बढ्दो आकर्षण देखाएको थियो ।

    साँझ करिब ६ बजे मञ्चमा उक्लिएका नेपथ्यका मुख्य गायक अमृत गुरुङले ‘नमस्ते इटहरी, नमस्ते कोशी प्रदेश’ भन्दै दर्शकलाई अभिवादन गरे । त्यसपछि सुरु भएको सांगीतिक यात्राले करिब तीन घण्टासम्म दर्शकलाई बाँधिरह्यो ।

    ‘हो रामा रामा’ बाट सुरु भएको प्रस्तुतिसँगै मञ्चमा धुवाँ फैलियो, रंगीन प्रकाश घुम्न थाले र दर्शकको आवाज झन् चर्कियो। त्यसपछि ‘भेडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरी मर्‍यो’, ‘सुन सुन साइँली’, ‘कर्णाली’, ‘पोखरा बजार’, ‘मुक्लाङ जाऊँला’ र ‘रुकुम’ लगायतका गीतले माहोललाई थप उचाइमा पुर्‍याए ।

    कार्यक्रमको अन्त्यतिर ‘रेशम’ र ‘तालको पानी’ ले दर्शकलाई फेरि एकपटक नचायो। अन्तिममा ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गर्दै नेपथ्यले तीन घण्टे सांगीतिक यात्राको बिट मार्‍यो। गीत सकिए पनि दर्शकको उत्साह र हुटिङमा कमी आएको थिएन ।

    गीतमा सम्झना, संगीतमा जीवन र माटो

    नेपथ्यका गीतसँग दर्शकको सम्बन्ध मनोरञ्जनमा मात्र सीमित थिएन। धेरैका लागि ती गीत जीवनका सम्झना थिए, कसैका लागि सुखदुःखका अनुभूति त कसैका लागि देश र माटोसँग जोडिने माध्यम ।

    पुराना लोकप्रिय गीत बज्दा वृद्धवृद्धासमेत स्वर मिलाएर गुनगुनाइरहेका थिए । नयाँ पुस्ता भने मोबाइलमा भिडियो खिच्दै, हात हल्लाउँदै र गीतको लयमा रमाइरहेको थियो । एउटै गीतमा फरक पुस्ताका मानिस एकैसाथ रमाउनु नेपाली संगीतको प्रभावको सुन्दर दृश्य थियो ।

    इटहरी मात्र होइन, सुनसरी, मोरङ, झापा, धनकुटा र इलामलगायत पूर्वी नेपालका विभिन्न क्षेत्रबाट दर्शक आएका थिए। भारतको सिक्किम र दार्जिलिङबाट समेत नेपाली संगीतका पारखी सहभागी भएको आयोजकले जनाएको छ । यसले नेपथ्यको संगीत भौगोलिक सीमाभन्दा परसम्म नेपाली भाषी समुदायलाई जोडिरहेको देखाउँछ ।

    गीतसँगै अमृतको सन्देश स् जीवनलाई सकारात्मक काममा लगाऔँ

    अमृत गुरुङको प्रस्तुति गीत गाउने र दर्शक नचाउनेमा मात्रै सीमित रहेन । उनी गीतका बीचबीचमा दर्शकसँग संवाद गर्थे र जीवन, समाज तथा देशप्रतिको जिम्मेवारीबारे आफ्ना विचार राख्थे ।

    विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उनले जीवनलाई धुवाँमा नउडाउन, गरिब तथा दुःखीलाई सकेको सहयोग गर्न र देश घुमेर आफ्नै माटोलाई चिन्न आग्रह गरे। ‘देश हामीले नै बनाउनुपर्छ’ भन्ने उनको अभिव्यक्तिले दर्शकलाई संगीतसँगै सामाजिक दायित्वको सन्देशसमेत दियो ।

    उनले नेपाली संगीतलाई माया गर्न, आपसी एकता कायम राख्न र हिमाल, पहाड तथा तराईलाई भावनात्मक रूपमा जोड्नुपर्ने बताए। देश निर्माणको जिम्मेवारी राजनीतिक दल, कर्मचारी, समाजका अगुवा र नीति निर्मातामा मात्रै सीमित नरहेको भन्दै उनले सबै नागरिकको साझा दायित्व भएको सन्देश दिए।

    परोपकारको प्रसंगमा उनले छरछिमेकमा शिक्षाको उज्यालोबाट वञ्चित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सक्नु पनि ठूलो पुण्य हुने भाव व्यक्त गरे। अरूको दुःखमा साथ दिन र आफ्नो जीवनलाई सकारात्मक काममा लगाउन उनले दर्शकलाई प्रेरित गरे।

    यसरी अमृतको प्रस्तुति मनोरञ्जनसँगै मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सकारात्मक जीवनशैलीको सन्देश प्रवाह गर्ने माध्यम पनि बन्यो।

    संगीतले जोड्यो पुस्ता, भूगोल र भावना

    कन्सर्टमा युवायुवतीको बाहुल्य देखिए पनि अन्य उमेर समूहका दर्शकको उपस्थिति पनि उल्लेखनीय थियो। नेपथ्यका गीतले पुस्ताबीचको दूरी मेटाएको दृश्य रंगशालामा प्रस्ट देखिन्थ्यो। पुरानो पुस्ता आफ्ना सम्झनाका गीतमा रमाइरहेको थियो भने नयाँ पुस्ता त्यही संगीतमा आफ्नै उमंग र उत्साह खोजिरहेको थियो।

    नेपथ्यको विशेषता नै संगीतमार्फत नेपाली समाजका विविध भूगोल, संस्कृति र भावनालाई जोड्नु हो। इटहरी रंगशालामा देखिएको दृश्यले यो विशेषतालाई फेरि उजागर गर्‍यो। एउटै गीतमा हजारौँ मानिसको स्वर मिसिनु र अपरिचित दर्शकबीच पनि आत्मीयता देखिनुले संगीतको सामूहिक शक्ति झल्काएको थियो।

    मञ्चमा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गिटारमा सुबिन शाक्य, गिटारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए। वाद्यवादनको संयोजन, प्रकाश व्यवस्थापन र दर्शकको उत्साहले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

    इटहरीको सांगीतिक सम्भावनालाई नयाँ उचाइ

    इटहरीमा नेपथ्यको यो पहिलो प्रत्यक्ष प्रस्तुति थियो। करिब १० हजार दर्शकको सहभागिताले इटहरीमा ठूला सांगीतिक कार्यक्रमप्रतिको आकर्षण र बजार सम्भावनालाई उजागर गरेको छ।

    पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा सम्पन्न कार्यक्रम इटहरी उपमहानगरपालिकाको संरक्षण तथा कोशी प्रदेश सरकारको प्रवर्द्धनमा आयोजना गरिएको थियो। आयोजकले कन्सर्टलाई मनोरञ्जनसँगै इटहरीको सांगीतिक तथा सांस्कृतिक पहिचान विस्तार गर्ने अवसरका रूपमा लिएको थियो।

    यस्ता कार्यक्रमले स्थानीय होटल, यातायात, व्यापार तथा पर्यटन क्षेत्रमा आर्थिक गतिविधि बढाउनसमेत योगदान पुर्‍याउन सक्छन्। विभिन्न क्षेत्रबाट दर्शक आउने हुँदा स्थानीय व्यवसाय र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गर्न सकिन्छ।

    बुधबार राति इटहरी रंगशालामा देखिएको दृश्य एउटा सांगीतिक कार्यक्रमको सफलतामा मात्रै सीमित थिएन। त्यो नेपाली संगीतप्रतिको मोह, पुस्ताबीचको आत्मीयता, सामूहिक उत्साह र आफ्नो माटोसँग जोडिने भावनाको उत्सव थियो।

    तीन घण्टासम्म गीत गुञ्जिए। हजारौँ पाइला एउटै लयमा चले। हजारौँ हात एकैसाथ उठे। अन्तिम गीत सकिएर मञ्चका बत्ती निभे पनि दर्शकका अनुहारमा देखिएको खुसी र कानमा गुञ्जिरहेका नेपथ्यका धुन लामो समयसम्म मेटिनेवाला थिएनन्। चिसो इटहरीको त्यो रात संगीतले न्यानो बनाएको थियो। नेपथ्यले गीत मात्रै सुनाएन, हजारौँ मनलाई एउटै लयमा जोडेर फर्कियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images