काठमाडौं – बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘किङ’ले अन्तर्राष्ट्रिय वितरण सम्झौतामार्फत नयाँ कीर्तिमान बनाएको छ । चलचित्रको विदेशमा प्रदर्शन गर्ने अधिकार प्राप्त गर्न वितरक कम्पनी ‘फर्स फिल्म्स’ले १७५ करोड भारतीय रुपैयाँको ‘मिनिमम ग्यारेन्टी’ सम्झौता गरेको जनाइएको छ ।
यसअघि चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार यशराज फिल्म्समार्फत बिक्री गर्ने तयारी थियो । यशराज फिल्म्सले शाहरुख अभिनीत ‘डंकी’ र ‘जवान’ तथा ‘पठान’को वितरण गरेको थियो । तर, फर्स फिल्म्सले ठूलो रकमको प्रस्ताव गरेपछि ‘किङ’को अन्तर्राष्ट्रिय वितरण अधिकार प्राप्त गरेको हो ।
उपलब्ध विवरणअनुसार, यसअघि कुनै पनि भारतीय चलचित्रले अन्तर्राष्ट्रिय वितरणका लागि १०० करोड भारुको मिनिमम ग्यारेन्टी प्राप्त गरेको थिएन । त्यसैले ‘किङ’को सम्झौतालाई भारतीय चलचित्र बजारका लागि उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ ।
के हो मिनिमम ग्यारेन्टी सम्झौता ?
चलचित्र वितरणमा ‘मिनिमम ग्यारेन्टी’ भन्नाले वितरकले कुनै निश्चित क्षेत्रमा चलचित्र प्रदर्शन गर्ने अधिकार प्राप्त गरेबापत निर्मातालाई निश्चित रकम भुक्तानी गर्ने वा भुक्तानीको प्रतिबद्धता जनाउने सम्झौता हो ।
सामान्य कमिसनमा आधारित वितरण सम्झौतामा वितरकले चलचित्रबाट भएको कारोबारअनुसार आफ्नो शुल्क लिन्छ । तर, मिनिमम ग्यारेन्टीमा चलचित्रले बक्स अफिसमा अपेक्षित कमाइ गर्न नसके पनि सम्झौतामा तोकिएको न्यूनतम रकम निर्मातालाई उपलब्ध गराउनुपर्ने हुन्छ ।
यसअनुसार फर्स फिल्म्सले ‘किङ’को अन्तर्राष्ट्रिय वितरण अधिकारका लागि १७५ करोड भारु भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ। चलचित्रले विदेशमा कति कमाइ गर्छ भन्ने आधारमा वितरकको वास्तविक नाफा वा घाटा निर्धारण हुनेछ ।
वितरकका लागि ठूलो व्यावसायिक जोखिम
काठमाडौं – फर्स फिल्म्सले चलचित्रप्रति ठूलो व्यावसायिक विश्वास देखाए पनि १७५ करोड भारुको सम्झौता जोखिमपूर्ण मानिएको छ । उक्त लगानीबाट नाफा कमाउन चलचित्रले अन्तर्राष्ट्रिय बजारमा कम्तीमा २५० करोड भारु कमाउनुपर्ने अनुमान गरिएको छ ।
कम्पनीले मध्यपूर्वमा आफ्नै वितरण सञ्जालमार्फत चलचित्र प्रदर्शन गर्नेछ । उत्तर अमेरिका र बेलायतमा भने स्थानीय वितरकले प्रदर्शन व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ । अन्य देशमा पनि स्थानीय उपवितरकलाई प्रदर्शन अधिकार बिक्री गर्ने सम्भावना छ । जर्मनीबाट यसका लागि आकर्षक प्रस्ताव आइसकेको विवरणमा उल्लेख छ ।
हलिउडका ठूला चलचित्रसँग प्रतिस्पर्धा
‘किङ’को अन्तर्राष्ट्रिय प्रदर्शन यात्रा सहज भने देखिँदैन। क्रिसमस र नयाँ वर्षको बिदाको समयलाई लक्षित गर्दै प्रदर्शनमा आउने तयारीमा रहेका ‘एभेन्जर्सः डुम्सडे’, ‘ड्युन पार्ट ३’ र ‘जुमान्जी ३’ जस्ता हलिउड चलचित्रसँग यसले प्रतिस्पर्धा गर्नुपर्नेछ ।
‘पठान’ र ‘वार’ जस्ता सफल चलचित्र निर्देशन गरेका सिद्धार्थ आनन्दले ‘किङ’ निर्देशन गरेका हुन् । चलचित्रमा शाहरुखसँगै सुहाना खान, अभिषेक बच्चन, दीपिका पादुकोण, अनिल कपुर, ज्याकी श्राफ, रानी मुखर्जी, जयदीप अहलावत, अरशद वारसी र राघव जुयालको अभिनय रहेको छ ।
रेड चिलिज इन्टरटेनमेन्ट र मार्फ्लिक्स फिल्म्सले निर्माण गरेको यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण सम्झौताले भारतीय चलचित्रको विदेशी बजारमा बढ्दो व्यावसायिक सम्भावना र वितरकको लगानी जोखिम दुवैलाई उजागर गरेको छ ।






















