काठमाडौं– नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा प्राज्ञ परिषद्का सदस्यहरूले मण्डला थिएटर, थापागाउँमा रङ्गकर्मीहरूसँग आत्मीय भेटघाट तथा अन्तर्क्रिया गरेका छन् ।
भेटघाटका क्रममा मण्डला थिएटरका रङ्गकर्मीहरूले आफ्ना अनुभव, भोगाइ तथा सिर्जनात्मक यात्राका विविध पक्षबारे अनुभव आदान–प्रदान गरेका थिए ।
सो अवसरमा नेपाली रङ्गमञ्चको वर्तमान अवस्था, सम्भावना, चुनौती तथा आगामी यात्राका विषयमा समेत गहन छलफल भएको थियो ।
अन्तर्क्रियामा नेपाली रङ्गमञ्चको विकासका लागि प्राज्ञिक तथा व्यावसायिक क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । सहभागीहरूले रङ्गकर्मीका अनुभव, सिर्जनात्मक अभ्यास र समकालीन रङ्गमञ्चका सवालबारे विचार आदान–प्रदान गरेका थिए ।

मण्डला थिएटरले नेपाली कला, साहित्य तथा रङ्गमञ्चको विकास र प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानबाट गरिएको पहलप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा यस्ता भेटघाट, संवाद र सहकार्यलाई निरन्तरता दिँदै नेपाली रङ्गमञ्चलाई थप समृद्ध र सशक्त बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको थिएटरले जनाएको छ ।
मण्डला थिएटर परिवारले प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति, आत्मीयता र सार्थक संवादका लागि धन्यवाद व्यक्त गरेको छ ।


विश्व खबर 



















