images
images
  • बमको धम्कीपछि बुलेटप्रुफ कक्षबाट प्रशंसकलाई अभिवादन गर्दै अमिताभ बच्चन

    काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चन आइतबार मुम्बईस्थित आफ्नो निवास ‘जलसा’ बाहिर प्रशंसकहरूलाई अभिवादन गर्न बुलेटप्रुफ सिसाको कक्षभित्र देखा परेका छन् । आफ्नो निवासलाई बमले उडाइदिने धम्की आएपछि सुरक्षा व्यवस्था कडा पारिएका बेला उनी सुरक्षित कक्षभित्रबाट प्रशंसकहरूसँग भेटिएका हुन् । उनले कक्षभित्रैबाट हात हल्लाउँदै र हात जोडेर नमस्कार गर्दै प्रशंसकहरूलाई अभिवादन गरेका थिए ।

    अमिताभ हरेक आइतबार आफ्नो निवास ‘जलसा’ बाहिर उपस्थित भएर प्रशंसकहरूलाई अभिवादन गर्ने गर्छन् । ‘सन्डे दर्शन’ नामले परिचित यो परम्परा उनले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् । उनलाई एक झलक हेर्न तथा अभिवादन गर्न मुम्बईस्थित उनको घरबाहिर हरेक साता ठूलो संख्यामा प्रशंसक भेला हुने गर्छन् ।

    हालै उनको निवासलाई लक्षित गरी बम विस्फोट गराउने धम्की आएपछि मुम्बई प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको छ । आइतबारको भेटघाटका क्रममा ‘जलसा’ वरपर प्रहरी परिचालन गरिएको थियो भने ब्यारिकेड नजिकै सुरक्षाकर्मी तैनाथ गरी भीडमाथि निगरानी बढाइएको थियो । यही सुरक्षा सतर्कताबीच अमिताभ बुलेटप्रुफ सिसाको कक्षभित्रबाट प्रशंसकहरूसामु उपस्थित भएका हुन् ।

    यस पटकको ‘सन्डे दर्शन’ मा अमिताभका छोरा अभिषेक बच्चन पनि उनीसँगै देखिएका थिए। सामान्यतया अमिताभ एक्लै प्रशंसकहरूलाई अभिवादन गर्न बाहिर आउने गरे पनि यस पटक अभिषेक पनि उनको पछाडि उभिएका थिए। बुबासँगै अभिषेकको उपस्थितिले प्रशंसकहरूको ध्यान खिचेको थियो ।

    अमिताभले पछिल्लो समय आफ्नो स्वास्थ्य र आरामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले आफ्नो ब्लगमार्फत चिकित्सकहरूले केही दिन विश्राम लिन र स्वास्थ्यमा ध्यान दिन सल्लाह दिएको उल्लेख गरेका छन् । यसअघि पनि सामाजिक सञ्जालमा उनले शरीरलाई पूर्ण रूपमा तन्दुरुस्त बनाउन थप समय आवश्यक रहेको बताएका थिए। स्वास्थ्यका कारण आराम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे पनि उनले प्रशंसकसँग भेट्ने आइतबारको परम्परालाई निरन्तरता दिएका छन् ।

    प्राप्त विवरणअनुसार अक्टोबर २३ मा मुम्बईकी मेयर ऋतु तावडेको कार्यालयमा धम्कीपूर्ण इमेल प्राप्त भएको थियो । उक्त इमेलमा अमिताभको जुहूस्थित बंगला ‘जलसा’, मुम्बईमा आयोजना हुने गायक तथा अभिनेता दिलजित दोसाञ्झको कन्सर्ट र केही विद्यालयलाई निशाना बनाउने उल्लेख गरिएको थियो । इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ बीच ‘जलसा’लाई लक्षित गर्ने धम्की दिइएको जनाइएको छ । यही घटनापछि प्रहरीले अमिताभको निवाससहित सम्भावित जोखिममा रहेका स्थानको सुरक्षा सतर्कता बढाएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images