काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सरकारी सहयोग तथा संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् ।
बेलायतको लन्डनमा बुधबार विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटिटिसी) र संयुक्त राष्ट्रसङ्घीय पर्यटन संस्थाले आयोजना गरेको २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याएका जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले दिगो तथा उत्थानशील पर्यटन विकासका लागि स्थानीय समुदायको सशक्तीकरण आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरेका थिए ।
जलवायु परिवर्तनका कारण पर्यटकीय गन्तव्य, पर्यटन पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा चुनौती थपिँदै गएको उनको भनाइ थियो ।
पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र संस्थागत संरचनाको सहभागितामा प्रभावकारी सङ्कट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए ।
समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने मन्त्री पौडेलले उल्लेख गरे ।
‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।
सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिहरूले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी साझेदारी र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए ।





















