काठमाडौं – इजरायली विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार विस्थापित गर्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गरेका छन् ।
बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले हालै सम्पन्न निर्वाचनले इजरायली जनताले परिवर्तन र नयाँ सरकारको पक्षमा मतदान गरेको सन्देश दिएको बताएका छन् ।
‘हाम्रो लोकतन्त्र बलियो र जीवन्त छ । हामी सकेसम्म चाँडो नयाँ सरकार गठन गर्ने इजरायली जनताको इच्छा पूरा गर्न काम गरिरहेका छौँ । यो राष्ट्रिय आपत्कालीन सरकार हुनेछ,’ उनले वक्तव्यमा भनेका छन् ।
आइजेनकोटले नयाँ सरकारको नेतृत्व गर्दै इजरायललाई नयाँ राजनीतिक दिशा दिने आफ्नो उद्देश्य रहेको बताएका छन् । उनले सबै इजरायली नागरिकको हितमा काम गर्ने, यहूदी र लोकतान्त्रिक पहिचान कायम राख्ने तथा उदारवादी मूल्य र समानताप्रति प्रतिबद्ध सरकार निर्माण गर्ने दाबी गरेका छन् ।
उनले इजरायल र अमेरिकाबीचको सम्बन्ध दुई सरकारबीचको गठबन्धनमा मात्र सीमित नरहेको उल्लेख गरेका छन् । उनका अनुसार यो पुस्तौँदेखि कायम रहेको दुई देशका जनताबीचको साझेदारी हो, जुन साझा लोकतान्त्रिक मूल्य र पारस्परिक हितमा आधारित छ ।
आफ्नो नेतृत्वमा सरकार बनेमा अमेरिकासँगको सम्बन्ध थप सुदृढ र गहिरो बनाउने पनि उनले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनसँग निकट तथा रचनात्मक सहकार्य गर्न आफू इच्छुक रहेको उनको भनाइ छ ।
इजरायलमा गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार नेतान्याहू नेतृत्वको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट जित्दा संयुक्त सूची र रामसहितका अरब दलहरूले १९ सिट प्राप्त गरेका छन् ।
इजरायली संसद् नेसेटमा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्छ । कुनै पनि गठबन्धनले स्पष्ट बहुमत प्राप्त नगरेकाले सरकार गठनका लागि राजनीतिक दलहरूबीच वार्ता जारी छ ।
अरब दलहरूको समर्थन प्राप्त गर्न सके आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनलाई सरकार गठनका लागि आवश्यक बहुमत पुग्न सक्छ । यद्यपि, त्यसका लागि विपक्षी दलहरूबीच सहमति जुटाउनुपर्ने चुनौती छ ।





















