images
images
  • रौतहटमा दुई यात्रुबाहक बसबाट दुई लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

    काठमाडौं – रौतहट प्रहरीले यात्रुबाहक बसमा लुकाएर काठमाडौं लैजाँदै गरिएका दुई लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ ।

    गौरबाट काठमाडौंका लागि छुटेका दुईवटा यात्रुबाहक बसमा लुकाएर ओसारपसार गरिँदै गरेका सुर्ती, अञ्जिर, पानको पात, विभिन्न रङ तथा धार्मिक तस्बिरलगायतका सामग्री प्रहरीले बरामद गरेको हो ।

    रौतहट प्रहरी प्रमुख एसपी सीताराम रिजालको निर्देशनमा बुधबार राति चन्द्रपुर नगरपालिका–९ स्थित डुमरियामा गरिएको चेकजाँचका क्रममा ती सामग्री फेला परेका हुन् ।

    इलाका प्रहरी कार्यालय डुमरियाअगाडि राति करिब ९ः३० बजे वरिष्ठ प्रहरी नायब निरीक्षक निरोज कार्कीको कमाण्डमा खटिएको टोलीले गौरबाट काठमाडौं जाँदै गरेका बसहरू रोकेर जाँच गरेको थियो । सो क्रममा दुवै बसमा बेवारिसे अवस्थामा राखिएका भन्सार छलीका सामान फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    कुन बसबाट के–के बरामद ?

    प्रहरीका अनुसार बा.प्र.०३–००१ ख.२५४० नम्बरको नेपाल दर्शन बसबाट १०० किलो सुर्ती र ११० किलो अञ्जिर बरामद भएको छ ।

    त्यस्तै, बा.प्र.०३–००१ ख.२७०५ नम्बरको अनमोल ट्राभल्सबाट २५ किलो पानको पात, २०० किलो विभिन्न रङ, गणेश र सरस्वतीका फ्रेमसहितका ४८ थान साना–ठूला तस्बिर तथा ३०० थान ठूला पोस्टर बरामद गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार बरामद सामग्रीमध्ये केहीको अनुमानित मूल्य २ लाख २२ हजार ६ सय रुपैयाँ रहेको छ। अन्य सामग्रीको मूल्य भने तत्काल यकिन हुन सकेको छैन ।

    सामान बरामद, बस गन्तव्यतर्फ

    प्रहरीले भन्सार छलीका सामान बरामद गरे पनि दुवै बस भने आफ्ना गन्तव्यतर्फ गइसकेका छन् । बरामद सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    यात्रुबाहक बसलाई प्रयोग गरेर भन्सार छलीका सामान ओसारपसार भइरहेको यस घटनाले सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रण तथा सार्वजनिक यातायातको निगरानीमा थप प्रभावकारिताको आवश्यकता देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images