काठमाडौं – साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको हो ।
नेप्से सामान्य बढे पनि सेन्सेटिभ इन्डेक्स २.६९ अंक, फ्लोट इन्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अंकले घटेका छन् ।
कारोबारमा आएका १३ उपसमूहमध्ये चारवटाको परिसूचक बढेको छ । अन्य उपसमूह सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ । व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले बढ्दा जीवन बीमा र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँ बराबरको २ करोड १२ लाख २३ हजार कित्ता सेयर किनबेच भएको छ ।
बुधबार श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सबैभन्दा धेरै ८५ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घोराही सिमेन्ट इन्डस्ट्रीको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको सेयर मूल्य १२० रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ ७० पैसा कायम भएको छ ।
हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य साढे ११ प्रतिशत र श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको सेयर मूल्य साढे ८ प्रतिशतले बढेको छ ।




















