काठमाडौं– मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा बढ्दो महँगीका कारण रिपब्लिकन पार्टीले प्रतिनिधिसभा, सिनेट र गभर्नर पदका निर्वाचनमा ठूलो क्षति बेहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महँगीको मुद्दाले सार्वजनिक रूपमा अप्ठ्यारोमा पारेको छ।
करिब एक लाख मध्यावधि मतदातामाझ गरिएको एसोसिएटेड प्रेस (एपी) को मतदाता सर्वेक्षणमा अधिकांश सहभागीले ट्रम्पका नीतिले आर्थिक वृद्धिलाई कमजोर बनाएको र वस्तु तथा सेवाको लागत बढाएको बताएका छन् ।
पछिल्लो १२ महिनामा उपभोक्ता मूल्य ३.७ प्रतिशतले बढेको छ । ट्रम्पले दोस्रो कार्यकाल सुरु गर्दा मुद्रास्फीति दर ३ प्रतिशत थियो ।
महँगी बढ्नुको दोष आफ्ना पूर्ववर्ती डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनलाई लगाउँदै आएका ट्रम्पको सन्देशले भने मतदातामाझ प्रभाव पार्न सकेन ।
सर्वेक्षणमा सहभागी करिब दुईतिहाइ मतदाताले ट्रम्पका नीतिले मुद्रास्फीति बढाएको बताएका छन् । यसको विपरीत सन् २०२२ को मध्यावधि निर्वाचनका बेला गरिएको यस्तै सर्वेक्षणमा करिब आधा मतदाताले मात्रै तत्कालीन राष्ट्रपति बाइडेनका नीतिलाई महँगी बढ्नुको कारण मानेका थिए ।
एपी भोटकास्टका अनुसार यस वर्ष ट्रम्पप्रति मतदाताको धारणा तुलनात्मक रूपमा बढी नकारात्मक देखियो ।
यस वर्षको सर्वेक्षणमा सहभागी करिब १० मध्ये ९ मतदाताले जीवनयापनको बढ्दो खर्चलाई अमेरिकी सिनेट र प्रतिनिधिसभाका लागि मतदान गर्दा ‘अत्यन्त महत्त्वपूर्ण’ वा ‘प्रमुख’ विषयका रूपमा लिएको बताएका छन् ।
जीवनयापनको खर्चलाई महत्त्वपूर्ण विषय मान्ने मतदातामध्ये करिब १० मध्ये ६ जनाले आफ्नो निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् ।





















