काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण राजनीतिक बैठक सुरु भएको छ । राजधानी बेइजिङमा जारी यो बैठकले आगामी वर्षहरूमा सत्तारुढ पार्टीको राजनीतिक दिशा र नेतृत्वको प्राथमिकता निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । बैठकलाई राष्ट्रपति सी जिनपिङले पार्टी र राज्यसत्तामाथिको आफ्नो पकड थप बलियो बनाउने अवसरका रूपमा समेत हेरिएको छ।
‘पाँचौँ पूर्ण बैठक’ भनिने यस भेलामा पार्टीको केन्द्रीय समितिका करिब ३०० सदस्य सहभागी छन् । सरकारी सञ्चारमाध्यमका अनुसार बैठकमा पार्टीभित्र अनुशासन थप कडा बनाउने विषयमा छलफल हुनेछ ।
सोमबारदेखि सुरु भएको चारदिने बैठक बिहीबारसम्म चल्नेछ । पार्टीभित्र हालै भएका निष्कासन र नेतृत्व तहमा गरिएको फेरबदलका बीच आयोजना भएको यो बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ। चीनमा यस्ता बैठकका छलफल गोप्य राख्ने परम्परा छ। बैठकपछि भने निर्णयहरूको सारांश र विस्तृत दस्ताबेज सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
पूर्ण बैठक किन महत्त्वपूर्ण छरु
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका सदस्य सहभागी हुने पूर्ण बैठक पार्टीको नीति, नेतृत्वको प्राथमिकता र भावी रणनीति तय गर्ने महत्त्वपूर्ण राजनीतिक मञ्च हो । केन्द्रीय समितिको पाँचवर्षे कार्यकालमा सामान्यतया सातवटा पूर्ण बैठक आयोजना गरिन्छन् ।
यस्ता बैठकबाट पार्टी नेतृत्वले अघि बढाउन चाहेका नीतिगत प्राथमिकता र राजनीतिक दिशाबारे सङ्केत प्राप्त हुन्छ। यस वर्षको बैठक आगामी पार्टी महाधिवेशनको पूर्वसन्ध्यामा हुन लागेकाले यसको महत्त्व अझ बढेको छ । आगामी महाधिवेशनमा नयाँ प्राथमिकता निर्धारण गर्नुका साथै नयाँ केन्द्रीय समिति चयन गरिनेछ ।
औपचारिक रूपमा पार्टीको शीर्ष नेतृत्व चयन गर्ने जिम्मेवारी केन्द्रीय समितिमा रहे पनि व्यवहारमा चीनको नेतृत्व चयन प्रक्रिया पार्टीका उच्च तहका नेताहरूबीच हुने गोप्य सहमतिबाट प्रभावित हुन्छ ।
सी जिनपिङले सन् २०१८ मा राष्ट्रपतिको कार्यकालसम्बन्धी संवैधानिक सीमा हटाउन भूमिका खेलेका थिए। त्यसयता उनी चीनको राजनीतिक प्रणालीमा शक्तिशाली नेताका रूपमा स्थापित छन् । आगामी पार्टी महाधिवेशनमा पनि उनको नेतृत्व निरन्तर रहने सम्भावनालाई बलियो मानिएको छ ।
सीको विचारधारा र पार्टीमाथिको नियन्त्रण
यसअघिका पार्टी बैठक तथा निर्णयहरूले सी जिनपिङको नेतृत्वलाई संस्थागत बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको राजनीतिक दर्शनलाई ‘सी जिनपिङ विचारधारा’ का रूपमा पार्टीको विधान र चीनको राजनीतिक संरचनामा स्थापित गरिएको छ।
यस वर्षको पूर्ण बैठक सीका लागि आगामी पार्टी महाधिवेशनअघि राजनीतिक रणनीति स्पष्ट पार्ने अवसर हो। पार्टीभित्र नीतिगत एकरूपता कायम गर्नु, नेतृत्वप्रतिको निष्ठा सुनिश्चित गर्नु र अनुशासनको प्रणालीलाई थप प्रभावकारी बनाउनु बैठकका महत्त्वपूर्ण विषयका रूपमा हेरिएका छन् ।
बैठक कहाँ आयोजना भइरहेको छ भन्ने विवरणसमेत सार्वजनिक गरिएको छैन । विगतमा यस्ता बैठक बेइजिङस्थित जिङसी होटलमा आयोजना हुने गरेका थिए ।
गत सेप्टेम्बरमा बसेको २१ सदस्यीय पोलिटब्युरोको बैठकपछि सार्वजनिक विवरणमा पार्टीभित्र शासन व्यवस्था र अनुशासनलाई व्यापक तथा कडा बनाउने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख थियो । यसलाई पार्टीका विभिन्न तहमा रहेका अधिकारीमाथि नियन्त्रण बढाउने र उनीहरूबाट थप जवाफदेहिता तथा कार्यक्षमता सुनिश्चित गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ ।
निष्कासनले बढाएको नेतृत्व सङ्कट
चिनियाँ कम्युनिस्ट पार्टीभित्र पछिल्लो समय भएका निष्कासन र पदमुक्तिका घटनाले नेतृत्व तहमा रिक्तता सिर्जना गरेका छन् । भ्रष्टाचार तथा ‘नैतिक भ्रष्टाचार’ लगायतका आरोपमा उच्चपदस्थ अधिकारीहरूमाथि कारबाही भएपछि पार्टीका विभिन्न निकायमा नयाँ नियुक्तिको आवश्यकता बढेको छ ।
विश्लेषकहरूका अनुसार ‘नैतिक भ्रष्टाचार’ जस्ता आरोपलाई आर्थिक अनियमिततामा मात्र सीमित गरेर बुझ्न सकिँदैन। पार्टी नेतृत्वप्रतिको निष्ठा, राजनीतिक अनुशासन र संगठनात्मक आचरणसँग पनि यस्ता आरोप जोडिन सक्छन्। त्यसैले भ्रष्टाचारविरोधी अभियानले प्रशासनिक सुधारसँगै पार्टीभित्रको शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्छ।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटको अनुमानअनुसार, सन् २०२२ मा केन्द्रीय समितिमा नियुक्त गरिएका ४४ सैन्य सदस्यमध्ये दुई जना मात्र आफ्नो पदमा कायम छन्। यो तथ्यले चिनियाँ सेनाको उच्च नेतृत्वमा भएको व्यापक फेरबदलको सङ्केत गर्छ।
चीनको सशस्त्र बलको सर्वोच्च नेतृत्व निकाय केन्द्रीय सैन्य आयोगमा पनि सदस्य सङ्ख्या घटेको बताइएको छ। सात सदस्यीय यस आयोगमा अहिले सी जिनपिङसहित दुई जना मात्र बाँकी रहेको विवरण सार्वजनिक भएको छ ।
सैन्य नेतृत्वमा नयाँ नियुक्तिको अवसर
केन्द्रीय सैन्य आयोग चीनको सशस्त्र बलमाथि राजनीतिक तथा रणनीतिक नियन्त्रण राख्ने सर्वोच्च निकाय हो । यसका सदस्यमा भएको व्यापक फेरबदलले सैन्य नेतृत्वको निरन्तरता र संस्थागत स्थिरताबारे प्रश्न उठाएको छ ।
यस्तो अवस्थामा पूर्ण बैठकले पार्टीको केन्द्रीय नेतृत्वसँग सम्बन्धित विषयमा छलफल गर्नुका साथै सैन्य नेतृत्वमा नयाँ अधिकारी नियुक्त गर्ने प्रक्रियालाई अघि बढाउने अवसर प्रदान गर्न सक्छ ।
सी जिनपिङले भ्रष्टाचारविरोधी अभियानमार्फत चिनियाँ सेना र पार्टीका विभिन्न निकायमा अनुशासन कायम गर्ने प्रयास गर्दै आएका छन् । तर, बारम्बार हुने उच्चस्तरीय निष्कासनले नेतृत्वप्रतिको निष्ठा र संस्थागत स्थिरताबीचको सम्बन्धलाई पनि चर्चामा ल्याएको छ ।
यसपटकको पूर्ण बैठकले पार्टीभित्रको अनुशासन, नेतृत्वको स्थिरता र सैन्य संरचनामा देखिएको रिक्तताबारे कस्तो दिशा तय गर्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो छ । बैठकका निर्णयले आगामी पार्टी महाधिवेशनको तयारी र सी जिनपिङको भावी राजनीतिक रणनीतिबारे थप सङ्केत दिने अपेक्षा गरिएको छ ।























