काठमाडौं – गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको अवस्था पत्ता नलाग्दा बाँकेका पीडित परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खँदै बिताएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवाका अनलाल रोकायका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा बेपत्ता भएका थिए। दुई महिना बितिसक्दा पनि उनीहरूको अवस्था पत्ता नलागेको अनलालले बताए ।
“बाढीमा हराएका हाम्रा मान्छेको अहिलेसम्म अत्तोपत्तो छैन,” उहाँले भन्नुभयो, “यो वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्टको पर्खाइमा बिताउन बाध्य भएका छौँ ।”
परिवारका सदस्य जीवित छन् वा मृत्यु भइसकेको छ भन्ने यकिन नहुँदा सामाजिक संस्कारसमेत गर्न नसकेको उहाँले बताउनुभयो। शव पहिचानका लागि अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणको नमुना दिनुभएको छ। तर, रिपोर्ट नआउँदा परिवार अन्योलमा छ ।
“सास वा लास केहीको अत्तोपत्तो छैन, के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ,” उनले भने, “सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसक्ने गरी बेपत्ता भएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ।”
यसैगरी, रोजगारीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा बेपत्ता भएका छन्। उनीहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा बाटो हेरिरहेका छन्। सुभासले पनि डीएनए परीक्षणको रिपोर्टको प्रतीक्षा गरिरहेको बताए ।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआउँदासम्म पीडित परिवारलाई सान्त्वना दिँदै आएको बताए । उनका अनुसार बेपत्ताको खोजी जारी राख्न तथा सहाराविहीन बनेका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक समन्वय र सहयोग भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरका अनुसार भोटेकोशी बाढीपछि बेपत्ता आफन्तको पहिचानका लागि बाँकेका १६ जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ । अन्य आफन्तले काठमाडौँ र चितवनस्थित अस्पतालमा नमुना दिएका छन् ।
सङ्कलित नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका पहिलो तहका नातेदार—बाबु, आमा, छोरा वा छोरी—को ताजा रगतको नमुना सङ्कलन गरिएको हो ।






















