काठमाडौं – धान पाकेर भित्र्याउने समय नजिकिएसँगै झापाका किसानलाई बाली जोगाउने चिन्तासँगै जङ्गली हात्तीको जोखिम पनि बढेको छ । खेतमा पाक्न लागेको धान जोगाउन किसान खेतबारीमा जाने र रातिसमेत निगरानी गर्ने भएकाले हात्तीसँग जम्काभेट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा निगरानी र जनचेतनामूलक अभियान तीव्र पारेको छ ।
चाडपर्वका समयमा मानिसको चहलपहल बढ्ने तथा बिहान, बेलुका र रातिको समयमा हात्तीको आवतजावत हुने भएकाले स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सशस्त्र प्रहरीले हात्ती प्रभावित बस्तीमा माइकिङ गरेर सचेतना फैलाउनुका साथै मोबाइल तथा पैदल गस्तीमार्फत निगरानी गरिरहेको जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कता र जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको बताउनुभयो। उनले धानबाली जोगाउने क्रममा किसानले आफ्नो सुरक्षालाई पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए ।
“धानबाली जोगाउने चिन्तामा रहेका किसान तथा स्थानीय बासिन्दाले हात्तीको जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ। हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगरी सुरक्षित स्थानमा जानुपर्छ,” कर्माचार्यले भने ।
धान भित्र्याउने समय नजिकिँदा खेतमा राति निगरानी गर्ने र हात्ती धपाउने प्रयास गर्ने क्रममा दुर्घटनाको जोखिम बढ्न सक्ने प्रहरीको भनाइ छ । त्यसैले अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हात्तीको आवतजावत हुने क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। हात्तीको बाटो अवरुद्ध गर्ने, नजिकै गएर तस्बिर वा भिडियो खिच्ने तथा भीड जम्मा गरेर घेराबन्दी गर्ने गतिविधिले जोखिम थप बढाउन सक्ने भएकाले त्यस्ता काम नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
सशस्त्र प्रहरीले घर, गोठ र आँगन वरपर हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न तथा बाक्लो झाडी सफा राख्नसमेत आग्रह गरेको छ। बस्तीमा रहेका बालबालिका, वृद्धवृद्धा र अन्य जोखिममा पर्न सक्ने व्यक्तिको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिइएको छ ।
झापाका मेचीनगरको बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र त्यसबाट हुने क्षतिको समस्या देखिँदै आएको छ । यी क्षेत्रमा हात्तीको गतिविधिबारे स्थानीयलाई समयमै जानकारी गराउने, गस्ती बढाउने र सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा स्थानीय बासिन्दासँग समन्वय गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
धानबाली भित्र्याउने महत्त्वपूर्ण समयमा हात्तीबाट हुने सम्भावित क्षतिले किसानको जीविकोपार्जनमा थप चुनौती सिर्जना गर्न सक्ने भएकाले बालीको सुरक्षासँगै मानवीय सुरक्षालाई प्राथमिकता दिनुपर्ने देखिएको छ । हात्ती देखिएमा त्यसको नजिक नजाने, सुरक्षित दूरी कायम गर्ने र जोखिमको अवस्थामा सम्बन्धित सुरक्षा निकायलाई खबर गर्ने सावधानी अपनाउन प्रहरीले स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।























