images
images
  • गोविन्दाको स्पष्टीकरणः ‘हामी हिन्दू हौँ, हाम्रो परम्परामा सम्बन्धविच्छेद भन्ने शब्द नै छैन’

    काठमाडौं – बलिउड अभिनेता गोविन्दाले पत्नी सुनिता आहुजासँगको सम्बन्धलाई लिएर उठिरहेका प्रश्नबारे प्रतिक्रिया दिएका छन् । सुनिताले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको विषयमा सोधिएको प्रश्नमा उनले आफूहरू हिन्दू भएको उल्लेख गर्दै आफ्नो परम्परामा सम्बन्धविच्छेदको अवधारणा नरहेको बताएका छन् ।

    एबीपी न्युजसँगको कुराकानीमा गोविन्दाले आफ्नो व्यक्तिगत जीवन, पत्नीले लगाएका आरोप र पछिल्लो समय उनीहरूको सम्बन्धबारे भइरहेका चर्चामा धारणा राखेका हुन् । उनले कतिपय प्रश्नको सीधा जवाफ दिनुको सट्टा निजी विषयलाई सार्वजनिक रूपमा धेरै नखोल्ने आफ्नो स्वभाव रहेको बताए ।

    सुनिताले दबाबमा परेर सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी हुन् वा दुवैको आपसी सहमतिमा यस्तो निर्णय भएको हो भन्ने प्रश्नमा गोविन्दाले स्पष्ट जवाफ दिएनन्। उनले भने, “हामी हिन्दू हौँ र हाम्रो परम्परामा ‘सम्बन्धविच्छेद’ भन्ने शब्द नै छैन । यस्ता विषय समाधान गर्ने सबै उपाय हाम्रो आफ्नै प्रणालीभित्र समाहित छन् ।”

    गोविन्दाले कसैलाई पनि सार्वजनिक रूपमा अप्ठ्यारोमा पार्न नचाहेको बताए। जीवनमा केही परिस्थितिमा धैर्य अपनाउनुपर्ने र सम्बन्धको प्रकृति बुझेर व्यवहार गर्नुपर्ने उनको भनाइ थियो । निजी विषय सार्वजनिक गर्दा अरूको प्रतिष्ठामा असर पर्न सक्ने भएकाले आफूले सबै कुरा खुलाउन नचाहेको उनले संकेत गरे ।

    सुनिताले यसअघि गोविन्दाका प्रेम सम्बन्धबारे टिप्पणी गरेको र अहिले उनीमाथि गम्भीर आरोप लगाइरहेको विषयमा पनि अन्तर्वार्ताका क्रममा प्रश्न गरिएको थियो। त्यसको जवाफमा गोविन्दाले आफूले विभिन्न चर्चित अभिनेत्रीहरूसँग काम गरे पनि उनीहरूसँग सामान्य अभिवादनभन्दा बढी कुराकानी गर्ने अवसरसमेत नपाएको भन्दै ठट्टा गरे ।

    उनले आफूले ‘मिस युनिभर्स’ जत्तिकै आकर्षक अभिनेत्रीहरूसँग काम गरेको तर उनीहरूसँगको कुराकानी ‘हेलो’ र ‘हाइ’ मा सीमित रहेको बताए। पार्टीमा सहभागी नहुने आफ्नो पुरानो बानीबारे सोधिएको प्रश्नमा पनि उनले ठट्टा गर्दै अहिले अवसर पाए पार्टीमा जाने बताए। त्यसपछि आफूले मजाक गरेको स्पष्ट पारे ।

    गोविन्दाले आफ्नो नाम र बदनामी लामो समयदेखि सँगसँगै अघि बढिरहेको पनि बताए। उनका अनुसार, कुनै व्यक्तिले नाम र ख्याति कमाएपछि शंका र आलोचनासमेत सामना गर्नुपर्ने हुन्छ। आफ्नो जीवनमा कुनै न कुनै प्रकारको बदनामीको सामना नगरेको समय नरहेको उनको भनाइ थियो ।

    करिब आठ–नौ वर्षअघि आफूले भविष्यमा केही परिस्थितिहरू सिर्जना हुन सक्ने बताएको प्रसङ्ग पनि उनले सम्झिए। अहिलेका घटनाक्रम आफूले पहिले अनुमान गरेको दिशातिर अघि बढिरहेको जस्तो लागेको उनले बताए। तर, उनले कुन व्यक्ति वा घटनालाई संकेत गरेका हुन् भन्ने खुलाएनन्। अरूको प्रतिष्ठा र सम्मानलाई ध्यानमा राखेर सबै कुरा सार्वजनिक नगर्ने उनको भनाइ थियो ।

    आफूबारे निरन्तर नकारात्मक चर्चा भइरहँदा पनि किन खुलेर प्रतिक्रिया नदिएको भन्ने प्रश्नमा गोविन्दाले अरूलाई अपमान गरेर बदला लिन आफूले नचाहेको बताए। “कटुताबाट कहिल्यै मिठास प्राप्त हुँदैन,” उनले भने। समयसँगै मानिसहरूले विभिन्न परिस्थितिमा कसले कस्तो व्यवहार गरेको थियो भन्ने आफैँ बुझ्ने उनको धारणा थियो ।

    पत्नी सुनितासँगको सम्बन्धबारे उठिरहेका प्रश्नका बीच गोविन्दाले उनीप्रति सकारात्मक धारणा पनि व्यक्त गरे। सुनिता आफ्नो जीवनमा आएपछि आफूले पछाडि फर्केर हेर्नु नपरेको बताउँदै उनले आफ्नो सफलताको श्रेय आमाको आशीर्वादलाई दिए। पत्नी पनि आफ्नो जीवनको अभिन्न हिस्सा रहेको उनले उल्लेख गरे ।

    गोविन्दाको पछिल्लो अभिव्यक्तिले उनी र सुनिताको सम्बन्धबारे भइरहेको चर्चालाई फेरि सतहमा ल्याएको छ। यद्यपि, सम्बन्धविच्छेदको निवेदन फिर्ता लिने निर्णयको वास्तविक कारण र दम्पतीबीचको सहमतिबारे उनले अन्तर्वार्तामा स्पष्ट विवरण दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images