काठमाडौं – दोस्रो झापा महिला आमन्त्रण गोल्डकप आगामी मङ्सिर ५ देखि १२ गतेसम्म झापाको दूधे रङ्गशालामा आयोजना हुने भएको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजक झापा महिला गोल्डकपले आइतबार खेलमैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । आयोजक समितिका अध्यक्ष सन्तोष थापाका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, भारत, भुटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोलीको सहभागिता रहने अध्यक्ष थापाले जानकारी दिए। आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरी आफ्नो टोली तयार पार्ने जनाएको छ ।
प्रतियोगिताको पुरस्कार राशिमा पनि आकर्षण थपिएको छ । विजेता र उपविजेताबाहेक सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ।
प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिता लक्षित गरी दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको छ भने दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिने आयोजकले जनाएको छ ।
महिला फुटबलको प्रवर्द्धन र खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा नेपाली विभागीय टोली, घरेलु क्लब र विदेशी टोलीबीच प्रतिस्पर्धा हुनेछ । आठ दिनसम्म चल्ने प्रतियोगिताले झापामा महिला फुटबलको माहोल बढाउने अपेक्षा गरिएको छ ।






















