काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमै साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । गत संस्करणको फाइनलमा प्रतिस्पर्धा गरेका यी दुई टोलीबीचको भिडन्तले यसपटकको प्रतियोगितालाई सुरुआतमै रोचक बनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुनेछ ।
गत संस्करणमा लिग चरणमा चौथो स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो। सात खेलमा चार जित र तीन हार बेहोरेको लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई चार विकेटले र क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले पहिलोपटक एनपीएलको उपाधि जितेको थियो ।
उक्त फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट लिएका थिए । रुवेन ट्रम्पलम्यान फाइनलका उत्कृष्ट खेलाडी तथा प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। यही सफलताबाट उत्साहित लुम्बिनी यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका रोहितको नेतृत्व र पूर्वभारतीय क्रिकेटर टिनु योहानाको प्रशिक्षणमा रहेको टोलीका लागि पहिलो खेलमै जित निकाल्नु महत्त्वपूर्ण हुनेछ ।
उता, सुदूरपश्चिम रोयल्स गत संस्करणको फाइनलमा भोगेको हारको बदला लिँदै नयाँ सिजनको सुरुआत गर्ने योजनामा छ । अघिल्लो संस्करणको लिग चरणमा लगातार चार खेल जित्दै प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको सुदूरपश्चिमले प्रतियोगिताभर निरन्तर प्रदर्शन गरेको थियो । तर, फाइनलमा लुम्बिनीसँग पराजित भएपछि उपाधि जित्ने उसको लक्ष्य अधुरै रहेको थियो ।
यसपटक दीपेन्द्रसिंह ऐरीको कप्तानी र पाकिस्तानका पूर्वकप्तान मिस्बाह–उल–हकको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले उपाधि जित्ने लक्ष्य राखेको छ। उद्घाटन खेलमै साविक विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले टोलीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने अवसरसमेत हुनेछ । अघिल्लो संस्करणको फाइनलमा बेहोरेको हार बिर्सेर प्रतियोगितामा बलियो सुरुआत गर्ने चुनौती सुदूरपश्चिमसामु छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने तेस्रो संस्करणमा आठ फ्रेन्चाइज टोली सहभागी छन्। लुम्बिनी र सुदूरपश्चिमसँगै विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ ।
उद्घाटन खेलले दुवै टोलीको सुरुआती लय र उपाधि यात्राको संकेत दिनेछ। लुम्बिनीका लागि उपाधि रक्षा गर्ने अभियान सुरु गर्ने अवसर हुनेछ भने सुदूरपश्चिमका लागि अघिल्लो फाइनलको हारको जवाफ दिने मौका। त्यसैले एनपीएलको पहिलो खेल केवल उद्घाटन मुकाबला नभई अघिल्लो सिजनको फाइनलको निरन्तरताका रूपमा समेत हेरिएको छ ।






















